काठमाडौं चैत ९ ।

कलकत्ता उच्च अदालतको आदेशमा निर्दोष ठहर भई ४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।
इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कलकत्ताको उच्च अदालतले उनका परिवारले मागे कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले संचारमाध्यमलाई जानकारी दिएका छन् । दुर्गाप्रसादको मुद्दा विरलै हुने भन्दै अदालतले दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे कानून अनुसार क्षतिपूर्ति दिन आदेश भएको हो। क्षतिपूर्ति कति हुन्छ ? भन्नेबारे आदेश मौन छ ।
उनलाई ४० अघि २० वर्षको उमेरमा कामको खोजीमा दार्जिलिङ पुगेको र त्यहाँ एक महिलाको हत्या अभियोगमा मुद्दामा बिना सुनुवाई दार्जिलिङ, पश्चिम बंगाल हुँदै भारतका विभिन्न जेलमा सरुवा गरेर अन्तिममा कोलकताको दमदम जेलमा राखिएको थियो । पछि संचारमाध्यममार्फत घरपरिवारसम्म गएको फागुनमा खबर भएपछि परिवारबाट भएको पहलमा कोलकता उच्च अदालतको आदेशमा उनी गएको शनिबार मात्र रिहा भएका थिए । उनी आइतबार इलाम जन्म घरमा पुगिसकेका छन् ।
सोमबार आएको पूर्ण फैसलामा उनलाई माग भइआएको खण्डमा क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारको नाममा आदेश भएको हो । उनी अहिले कम बोल्ने र टहलिने मानसिक समस्याबाट ग्रष्त छन् । घरमा उनले आमासित धेरै बोल्न नसकेको र मानसिक रुपमा विक्षिप्त र त्रसित मनोवैज्ञानिक अवस्थामा रहेको उनका काकाका छोरा भाई प्रकाशले बताएका छन् ।






