काठमाडौं चैत १२ ।

गृहमन्त्री रामबहादुर थापा ’बादल’ले हत्या मुद्दामा सदरखोर जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइबारे छलफल गर्न वार्ता टोली गठन गर्ने आश्वासन दिएका छन् ।
चौधरीका माग गर्दै माइतीघर मण्डलमा भइरहेको विरोध धर्ना कार्यक्रममा सहभागी थरुहट संघर्ष समिति अगुवाहरुलाई धर्नास्थलमै पुगेर सो आश्वसन दिएका हुन् । धर्नाकारीहरुलाई मन्त्री थापाले आफू सरकारको प्रतिनिधित्व गरेरका सडकमा आएको बताए । रिहाईको माग गर्दै धर्ना बसेकाहरुले संघर्ष समितिका नेतृत्वसँग छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया थापालाई दिएका थिए ।
जनता समाजवादी पार्टी नेपालले पनि चौधरीको रिहाई गर्ने दललाई नयाँ सरकार गठनमा साथ दिने बताउँदै आइरहेको बेला आज गृहमन्त्री थापा माइतघरस्थित धर्नास्थलमै पुगेर आश्वसन दिएर फर्किएका छन् । धर्नास्थलमा थापाले पोलिट मारेर बसेरै धर्नामा बसेकाहरुसँग कुराकानी समेत गरे । संविधान जारी हुनुपूर्व २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र थरुहट प्रदर्शनकारीबीच झडपमा एक एसएसपीसहित ८ जनाको हत्या भएको थियो । थारु समूदायले जातीय पहिचान सहितको प्रदेश र आत्मनिर्णयको अधिकारको माग गर्दै आन्दोलन गरेका थिए ।
सोही घटनामा चौधरीलाई दोषी ठहर गरी कैदसजायँ भुक्तानका लागि जेलमा राख्दै आइरहेको छ । अर्का दोषी ठहरिएका लक्ष्मणलाल थारु फरार छन् । संघर्ष समितिले रेशम र लक्ष्मणलगायत सबै बन्दीलाई राजबन्दीको मान्यतामा रिहा गर्नु पर्ने र लगाइएका मुद्दा खारेज हुनुपर्ने माग गर्दै आइरहेको छ ।






