लन्डन चैत १५ । देश विदेशमा बस्ने आफ्ना समर्थक एवं कार्यकर्ताहरुलाई नेपालको राजनीतिक अवस्था र पार्टीको धारणा सुसूचित गराउन प्रवासी नेपाली एकता मञ्च बेलायतले कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरेको छ ।
नेकपा एमालेको भ्रातृसंस्था प्रवासी नेपाली एकता मञ्चभित्र प्रवासीको बौद्धिक व्यक्तिहरुको जमात भनेर पनि चिनिन्छ । मार्च २८ तारिख आइतबार सम्पन्न भएको प्रशिक्षण कार्यक्रमका लागि एमालेको प्रशिक्षण सम्बन्धीका केन्द्रीय सदस्य एवं बुद्धिजीवीद्वय राजेन्द्र गौतम र रामबहादुर राउतले सम्बोधन गर्दै प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण भेलामा वर्तमान अवस्थाको राजनैतिक परिस्थितिबारे जानकारी दिँदै प्रशिक्षक राजेन्द्र गौतमले ‘जनताको बहुदलीय जनवाद र समसामयिक राजनीति’ विषयमा लामो व्याख्या गर्दै सबै कार्यकर्तालाई उत्साहित विचारहरु व्यक्त गरेका थिए । कोभिड १९ को महामारीका बेला भर्चुअलमार्फत गरिएको प्रशिक्षण भेलामा अर्का विचारक एवं बुद्धिजीवी रामबहादुर राउतले आफ्नै गृहजिल्ला पाल्पाबाट बेलायतका लागि प्रशिक्षण दिएका थिए ।
‘समृद्ध नेपाल, सुखी नेपाली, मार्क्सवादी दृष्टिकोण’ भन्ने विषयमा प्रशिक्षण दिएका बुद्धिजीवी एवं वर्तमान अवस्थाका चर्चित विश्लेषक रामबहादुर राउतले समसामयिक विषयमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
प्रशिक्षण आयोजक प्रवासी नेपाली एकता मञ्च बेलायतले यस अगाडि पनि बुद्धिजीवी एवं एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई, महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, कृषिमन्त्री पद्म अर्याल, अनेमसंघकी सुजिता शाक्य, एमाले विदेश विभागकी विन्दा पाण्डे, मानवअधिकार आयोगकी गौरी प्रधान आदिलाई आमन्त्रण गरी विविध विषयमा जानकारी लिने काम गरिसकेको छ ।
प्रवासी नेपाली एकता मञ्च बेलायतको अध्यक्ष भक्त गुरुङले अध्यक्षता गरेको सो प्रशिक्षण भेलालाई महासिचव सुरेशजंग शाहीले स्वागत मन्तव्य दिएका थिए । प्रशिक्षण भेलामा अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, मलेसिया जिफन्टका प्रेम मगर, दक्षिण कोरियाका अध्यक्ष जीवन पौड्याल, कतारका अध्यक्ष जनक फोखरेल, हङकङका अध्यक्ष भक्त गुरुङ, पोर्चुगलका अध्यक्ष गोविन्द पोखरेललगायत अन्य देशबाट पनि उल्लेख्य उपस्थिति थियो ।
वैचारिक अनुसन्धान अनुसन्धान विभागका प्रमुख एवं सो भेलाका संयोजक बालकृष्ण भुसालले उद्घोषक गरेका थिए । सोही कार्यक्रमका बीच प्रचार विभागका प्रमुख तुङ्गभद्र भुसालले प्रशिक्षण भेलाकै दिन संघको web.site सूचारु भएको र संघकै मुखपत्र डायस्परो प्रकाशन गरिने जानकारी दिएका थिए । प्रशिक्षण भेलामा पूर्वअध्यक्ष दिनेश घिमिरे र कर्णशाहीले टिप्पणी उठाउने काममा सहयोग गर्नु भएको थियो भने प्रश्नहरुको संकलन सचिव यादव श्रेष्ठले गरेका थिए ।
भेलामा कार्यसमितिका सबै पदाधिकारी एवं शाखाहरुबाट पनि बाक्लो उपस्थिति रहेको थियो ।






