काठमाडौं चैत २५ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्टहरू राति ९ बजेदेखि बन्द गर्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्दै गएको हुँदा विद्यालय, सार्वजनिक यातायात, धेरै भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन सरोकारवालाहरुलाई आग्रह गरेको छ।
यस्तै विदेशबाट फर्केर घरमै क्वारेन्टिनमा रहेका तथा संक्रमित भएर घरमै आइसोलेसनमा बसिरहेकाहरुलाई आवश्यक निगरानी गर्न स्थानीय तह तथा प्रशासनलाई मन्त्रालयले अनुरोध गरेको छ। सार्वजनिक स्थानहरुमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने पनि मन्त्रालयको भनाइ छ। यस्तै रात्रिकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ।
संक्रमणको अवस्था हेरेर साना सहरमा १०० र ठूला सहरमा ५०० भन्दा बढी संक्रमित देखिएमा ती सहरमा आवागमनमा कडाई गर्न पनि मन्त्रालयको आग्रह छ।






