लन्डन चैत ३०।

सन् २०२१ को शुरुवातबाटै लकडाउनको मारमा परेका इंग्ल्याण्डवासीहरुले आजबाट आंशिक मुक्ति पाएका छन् ।
पब गार्डेन, रेष्टुरेन्ट, अत्यावश्यक बाहेकका रिटेल पसल, हेयर ड्रेसर, ब्यूटी नेल सलुन, जिम, स्पा, स्वीमिङ पुल आदि व्यवसाय पुनः खोल्न पाउने भएका छन् । नयाँ प्रकृतिको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि सरकारले ५ जनवरी २०२१ बाट तेस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेको थियो ।
लकडाउन केही खुकुलो भएसंगै इंग्ल्याण्डका सबैजसो हाइस्ट्रीटहरुमा मानिसहरुको चहलपहल बढेको छ । संक्रमण फैलिने त्रासका कारण सिमित मानिसहरुलाई प्रवेश गर्न दिइने भएकाले पसलबाहिर भिडभाड बढेको छ।बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गतहप्ता सम्बोधन गर्दै दोस्रो चरण अन्तर्गत अप्रिल १२ देखि पूर्व घोषित रोड म्याप अनुसार नै लकडाउन खुल्ला गरिने घोषणा गरेसंगै इंग्ल्याण्डवासीहरु थप उत्साहित बनेका थिए ।
आजरबाट पब, रेष्टुरेन्टले बढीमा ६ जनाको समूहलाई आउटडोर बाहिर टेबल सर्भिसमा खाना तथा पेय पदार्थ विक्रिवितरण गर्न पाउने भएका छन् । आजबाट स्पा, थिम पार्क, चिडियाखाना, पुस्तकालय, कम्युनिटी सेन्टर पनि खुल्नेछन् । एउटै घरका परिवार इंग्ल्याण्डमा होलिडे जान सक्नेछन् तर खाने बस्ने उनीहरु आफैंले प्रवन्ध गर्नुपर्नेछ । बिहेमा १५ जना र अन्त्यष्टीमा बढीमा १५ जनासम्म सहभागी हुन पाउनेछन् ।
बेलायतमा गत वर्षको मार्च २३ तारिखबाट पहिलोपटक तीन महिना भन्दा लामो लकडाउन गरिएको थियो भने नोभेम्बर ५ बाट ४ हप्ते दोस्रो लकडाउन गरिएको थियो । तर, डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै नयाँ कोरोना भाइरस भेरिएन्ट देखा परेपछि संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो । जनवरी ५ बाट इंग्ल्याण्डमा तेस्रो देशव्यापी लकडाउन गरिएको थियो ।






