काठमाडौं ३१ चैत । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप सोमबार राति साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दोलखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापाको ज्यान गएको छ ।
घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको छ । अन्यको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपी रिजालले बताए ।
जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ ।






