
पोखरा वैशाख २ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध बिहीबारै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी विपक्षी दलहरुले गरेपछि गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा सातौं संसद् अधिवेशन बुधबार राति १२ बजेदेखि नै अन्त्य गर्नरिएको हो । चैत २५ बाट सुरु भएको संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयबाट सचिवालयलाई पत्र आएको प्रदेश सभा सचिव हरिराज पोखरलले जानकारी दिए ।
नेपाली काँग्रेसको अगुवाइमा माओवादी केन्द्रसहितका दलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको थियो । विपक्षीहरुको काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी गरेका थिए । मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर कांग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएको छ ।
जनमोर्चाको सहयोगमा काँग्रेस, माओवादी र जसपाले आजै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तरखरमा थिए । आफू संकटमा परेपछि अधिवेशन हतारमा अन्त्य गरिएको हो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद रहेका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । यस्तै नयाँ सरकार बनाउन ३१ सांसदको जरुरी हुन्छ । स्वतन्त्र सांसदको हैसियतमा रहेका दीपक मनाङेको साथ गुरुङलाई रहेको भएपनि उनलाई सरकार जोगाइराख्न ३ सांसदको जरुरत रहेपनि समीकरण बदलिँदा उनको सरकार संकटमा परेको छ ।






