
सुर्खेत वैशाख ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।
उनले प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा शुक्रबार विश्वासको मत लिएका हुन् । सभामुख राजबहादुर शाही सो सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए । हाल प्रदेशसभामा ३९ सदस्यकायम रहेको प्रदेशसभा सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका हुन् ।
प्रदेशसभामाकायम सदस्यमा सभामुखसहित २० नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् । माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उनको पद भने रिक्त रहेका बैठकमा सभामुख शाहीले जानकारी दिए । कांग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई समर्थन दिएका थिए । यसैगरी नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।
यसैबीच दलको निर्देशनविपरीत ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई एमाले संसदीय दलले पार्टीबाट निष्कासन गर्नको लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठक उक्त निर्णय गरेको हो ।
संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीबाट निस्कासन गर्नको लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए । त्यस्तै ‘फ्लोर क्रस’ गरेर पछि आफ्नो मत सच्याएकी देवी ओलीलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय भएको उनले बताए ।






