
काठमाडौं वैशाख ६ । नेपालमा सरकार फेरिने चर्चा चलिरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।
मन्त्रिपरिषद्को सोमबार बिहानको बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले दिउँसो एक बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । राष्ट्रपति कार्यालयले सोमबारै संसद् अधिवेशन अन्त्य गरेको पत्र संसद् सचिवालयलाई पठाएको छ ।
पत्रमा राष्ट्रपतिले भनेकी छन्, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ / १/६ को सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १:०० बजेदेखि अन्त्य गरेको छु ।’
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । यसअघि राष्ट्रपति भण्डारीले गत फागुन २३ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते संसद् विघटन गरेकोमा सर्वोच्च अदालतले फागुन ११ गते त्यसलाई पुन:स्थापना गरिदिएको थियो ।






