काठमाडौं वैशाख ७ । अन्नपूर्ण हिमाल आरोहण गरी फर्केकी शर्मिला तामाङ स्याङ्तानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत तथा बधाई ज्ञापन गरिएको छ ।
८ हजार मिटर अग्ला हिमालहरुमध्ये सबभन्दा जोखिमपूर्ण हिमालको रुपमा रहेको अन्नपूर्णको सफल आरोहण गरी तामाङ मंगलबार काठमाडौं फर्केकी हुन् । उक्त हिमाल शर्मिलासहित ६ जना नेपाली महिलाले एकैदिन आरोहण गरे ।
५ वर्षीय छोराकी आमा शर्मिलाले सगरमाथा, मनास्लुपछि ८ हजार उचाइ माथिको यो तेस्रो हिमाल आरोहण गरकी हुन् । अन्नपूर्ण आरोहण गरी फर्किने क्रममा मंगलबार आरोहण सहयोग समितिकी संयोजक इन्दिरा घले, तामाङ रिमठीम पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बर बम्जनलगायतको टोलीले विमानस्थलमा पुगी स्वागत गर्नुका साथै बधाई दिएका थिए ।
सञ्चारकर्मीसँगको कुराकानीमा आरोही तामाङले १८ घण्टासम्म थकाइ नमारी आरोहरण सफल पारेको बताइन् । अन्नपूर्ण चढिसकेपछि अन्य जुनसुकै हिमाल सजिलै आरोहण गर्न सक्ने आँट आएको उनले बताइन् । आरोहरणसँगै पर्यटन प्रवर्द्धन गरी राष्ट्रको सेवा गर्ने लक्ष्य रहेको उनले सुनाइन् ।








