
लन्डन वैशाख ११ । गैरआवासीय नेपाली संघ यूके (एनआरएनए यूके)का पूर्वअध्यक्ष तथा वर्तमान आईसीसीसी सदस्य योगकुमार फगामीले एनआरएनए यूकेमा आर्थिक घोटाला नभएको दाबी गरेका छन् ।
पत्रकारसँग कुरा गर्दै पूर्वअध्यक्ष फगामीले कागले कान लग्यो भन्दैमा कागको पछि नदगुर्न र पहिले आफ्नो कान छामेजस्तै सत्यतथ्य बुझ्न आग्रह गरेका हुन् । उनले भने, ‘आर्थिक घोटाला छैन, कागले कान लग्यो भन्दैमा कागको पछि नदर्गुनुहोस्, कान छाम्नुहोस् ।’ उनले आफ्नो नेतृत्वकालमा यूकेको ४ वटै राज्य समितिको चुनाव पहिलो पटक हुनु र एकै दिनमा १३ वटा मतदान केन्द्रमा चुनाव गराउनु ऐतिहासिक रहेको बताए ।
२०१९ मा चुनाव भएको १० दिनपछि मात्र मतपरिणाम आएको कारण धेरै दिनको निम्ति सेक्यूरिटी, मतपत्र स्टोर गरिराखेको र गणनास्थल प्रयोग गरेको स्थानको शुल्कले गर्दा नचाहँदा नचाहँदै पनि निर्वाचनमा धेरै खर्च भएको उनले प्रस्ट पारे । आर्थिक घोटाला नभएको भन्दै उनले आफूहरुले सबै खर्च विवरण सार्वजनिक भइसकेको बताए ।
आउँदो जुलाईभित्र यूके राष्ट्रिय समन्वय परिषद्लगायत ४ वटै राज्यको चुनाव अनलाइन भोटिङबाट हुने उनले बताए ।






