लन्डन वैशाख ११ । उपमेयर लक्ष्य गुरुङको सक्रियतामा बार्नेट काउन्सिलले नेपाली समुदायका लागि छुट्टै समाधिस्थल दिएको छ । कुनै पनि स्थानीय निकायले बेलायतमा नेपाली समुदायका लागि छुट्टै समाधिस्थल उपलब्ध गराएको यो दोस्रो पटक हो ।
त्यस्तै बर्न्टओक नेपाली समाजका अध्यक्ष विष्णु गुरुङले छुट्टै समाधिस्थल उपलब्ध गराइदिएकामा बार्नेट काउन्सिल तथा त्यसका लागि निरन्तर पहल गरेकोमा उपमेयर लक्ष्य गुरुङलाई धन्यवाद दिए । मिलहिलस्थित वेस्टमिन्स्टर सिमेट्री नजिकै रहेको उक्त समाधिस्थलको समाजका पूर्व अध्यक्ष तथा उपमेयर गुरुङ, बर्न्टओक नेपाली समाजका अध्यक्ष विष्णु गुरुङ, महासचिव दिलमाया गुरुङ तथा समाजका संस्थापक अध्यक्ष उदय गुरुङले शुक्रबार निरीक्षण गरेका थिए ।
‘भूतपूर्व गोर्खा सैनिकलगायत बेलायतमा बसोबास गर्ने नेपालीहरुको संख्या बढ्दै जाँदा हामीले छुट्टै समाधिस्थलका लागि माग गर्दै आएका थियौं । अहिले आएर काउन्सिलले नेपाली समुदायका लागि अलग्गै समाधिस्थल उपलब्ध गराइ दिंदा खुशी लागेको छ’- उपमेयर गुरुङले भने ।
हेन्डन सिमेट्री एण्ड क्रीमेटरियमका ग्रोथ एण्ड ट्रान्सफर्मेसन म्यानजर एन्ड्रयु मिल्नले उपमेयर गुरुङ सहितको टोलीलाई उक्त समाधिस्थलले ओगट्ने भूभाग तथा त्यहाँ निर्माण हुने संरचनाहरुबारे जानकारी दिएका थिए । यसअघि हिलिङडन गोर्खाज नेप्लिज कम्युनिटीको पहलमा नेपाली-गोर्खा समुदायका लागि छुट्टै समाधिस्थल उपलब्ध गराइएको छ ।






