काठमाडौं वैशाख १२ ।

काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने शान्ति, सुरक्षा र मुद्दाबाहेकका सेवा सोमवारदेखि बन्द गर्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। यस्तै मालपोत, यातायात लगायत भिडभाड हुने कार्यालयमा पनि आलोपालो गरी समय बढाएर कम भिड हुने गरी सेवा प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।
अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरूले अनावश्यक भिडभाड नगरि जनस्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गर्दै अनिवार्य रूपमा मास्क लगाएर मात्रै कार्यालय प्रवेश गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।






