काठमाडौं वैशाख १३ ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ ।
सोमवार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको त्रिविले जनाएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति निकाल्दै देशका विभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञा हुने भएपछि त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर तहका सञ्चालित भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका वार्षिक तथा सेमेस्टर प्रणालीका विभिन्न परीक्षा स्थगित गर्ने निर्णय गरेको उल्लेख गरेका छन्।
यसअघि आइतवार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।






