श्रीप्रसाद गुरुङ (काइँला दाइ)
अमेरिका USA
“शिपमा काम गर्ने क्रममा एउटा कुराचाहिँ थाहा भयो कि खैरेहरुले कुनै पनि खैरेको निर्णयलाई आँखा चिम्लेर साथ दिँदोरहेछ, चाहे त्यो निर्णय जति गलत किन नहोस् र धेरै जनाका लागि अति घातक किन नहोस् ? एउटा सन्की खैरेको सन्की निर्णयलाई अरु खैरेहरुले साथ दिँदै एकै पटकमा १४ जना गोर्खालीलाई ‘कोर्ट मार्शल’ गरेको देखियो ।”
मेरो सानैदेखिको New York पुग्ने सपना कसरी नजिकै पुगेर तुहियो ? मेरो पहिलो अंकमा पढ्नु भयो (यदि कसैले छुटाउनु भएको छ भने ‘Everest Times UK’ अनलाइन पत्रिकाको २५ अप्रिलको अंकमा पढ्न सक्नुहुन्छ या मेरै फकेबुकको वालमा पनि पाउन सक्नुहुन्छ) Hong Kong को शिपको मान्छेले जसरी अन्तिम समयमा मलाई American शिपबाट निकालेर star cruise मा ल्याइपुर्यायो यो घटनाले मेरो New York पुग्ने सपना झनै जगाइदियो | मेरै मेनपावर कम्पनी (BGOS) ले पनि American company को शिपमा सिक्युरिटी पठाउने गर्थ्यो | कसरी American company मा जान पाइएला ? सोंच्दासोंच्दै कहिले त बिहानसम्मै छर्लङ्गै निन्द्रा नलागी रात बित्थ्यो |
६ महिनाको कामपछि छुट्टी जाने दिन पनि आयो | BGOS को Managing Director सहाब्, क्याप्टेन श्यामबहादुर गुरुङ मेरै वडाको हुनुहुँदोरहेछ, मेनपावर धाउने क्रममा सामान्य परिचय भएको थियो | यो छुट्टीमा जसरी पनि उहाँसँग भेटेरै कुरा राख्ने निधो गरेँ र Hong Kong को एअरपोर्टमा duty free बाट निकै नाम चलेको ब्रान्डको Chivas Whisky को ठूलै बोत्तल (750 ml) सहाब्को लागि गिफ्ट किनेँ |
घर पुगेको बेलुका सहेबको घरमा फोन गरेको सहाब् घरै हुनुहुन्छ आए हुन्छ भन्ने अनुमति पाएँ | क्याप्टेन सहाब् जोसिलो हुनुहुँदोरहेछ, Chivas दिनेबित्तिकै आफ्नो बुढीलाई दुई वटा ग्लास मगाइ हाल्नु भयो | मुखले मलाई त पर्दैन सहाब् भनेँ तर मनले चाहिँ पर्छ पर्छ भन्दै थियो किनकि सँगै बसेर रक्सी खाएपछि कुरा राख्न साह्रै सजिलो हुन्छ भन्ने मलाई राम्रै थाहा थियो |
सहाब् drinks तयारीमा लाग्दै हुनुहुन्थ्यो मैले भित्तातिर नियालेँ, थुप्रै फोटोहरु झुन्डिएको रहेछ जसमध्ये एउटा परिचित अनुहार देखें | हामीभन्दा ४/५ वर्ष कान्छो होला, नाम अर्जुन थियो, फुटबल एकदमै राम्रो खेल्छ रे भन्ने सुनेको थिएँ | सहाब्को छोरा रहेछ क्यारे | लाउरेको छोरा, ID थियो होला Hong Kong तिर खिचेको फोटोहरु निकै झुन्डिएको रहेछ | अर्जुन Hong Kong तिरै रहेछ भन्ने अनुमान लगाउन मलाई गाह्रो भएन, त्यहींबाट कुराको सुरुवात गरें |अर्जुनको हालखबर के छ सहाब् ? फोन गर्दै गर्छ होला नि उसले ?
मलाई ड्रिन्क्सको ग्लास थमाउँदै भन्नुभयो, के गरोस् मोराले ? त्यो लाई स्वास्नी भएपछि केही चाहिँदैन अरु | पोहोरसम्म त कहिलेकाहीं आमालाई गर्थ्यो, अहिले त एक साल बढी भयो होला आमालाई पनि गरेको छैन | अनि तिमीले अर्जुन लाई चिन्छ ? भन्दै प्रश्न गर्नु भयो | साँच्चै भन्नु पर्दा राम्ररी चिन्ने त थिएन तर बूढोसँग अर्जुनको कुरै हुन्न भन्ने थाहा भएपछि मलाई ढुक्क भयो र कुरा बढाउन सजिलो भयो | कहाँ सहाब् ! अर्जुन र म त पहिले हाम्रो अन्नपूर्ण क्लबबाट सँगै फुटबल खेल्थ्यो नि ! हुन त हामीभन्दा ४/५ वर्ष नै सानो थियो तर साह्रै राम्रो खेल्ने भएर हामीसँगै खेलाइदिन्थ्यो फेरि पनि हामीभन्दा अर्जुननै राम्रो खेलीदिन्थ्यो भनेको | अहिले Hong Kong मा अर्जुनलाई भेट्न मन थियो भेट्नै पाएन | हाम्रो शिप Australia बाट राति आइपुग्यो, बिहानै मेरो काठमाडौंको फ्लाइट | यस्तै यस्तै मीठोमीठो गफहरु राति अबेरसम्म चलिरह्यो | सहाब्ले पनि म्यानपावर अफिस खोल्नु अघि शिपमा नै काम गर्नु भएको रहेछ, दुबै जना एक्स आर्मी पनि र शिपमा काम गरेको पनि, गफ खुब जम्यो | मेम सहाब्ले जबर्जस्ती बोतल नउठाइदिनु भएको भए त अझ बोतल रित्तिएरमात्रै गफ सिद्दिने थियो होला तर बिचैमा बोतल उठाइदिनाले गफ सिध्याउनु करै लाग्यो | जेहोस् तबसम्म रातो Chivas ले हामी दुईमा रगतको नाता जोडाइसकेको थियो | मामा- भान्जा | सहाब् आमाकै थरको घोताने गुरुङ हुनुहुँदोरहेछ, रक्सीकै तालमा भए पनि ’अब मलाई सहाब् नभन्नु मामा भन्नु’ भन्ने अनुमति पाएँ | भान्जालाई राम्रो शिपमा पठाइदिने वाचासहित आध राततिर मामाभान्जाको बिदाबादी भयो | कुलमान घिसिङको ‘right man in right place’ भन्ने सुत्र यहाँ पनि लागू हुन्छ, मैले सहाब्लाई गिफ्टमा रक्सीको सट्टा महँगो घडी ल्याइदिएको भए कहाँ यो वातावरण सिर्जना हुने थियो र ?
काम गर्यो Chivas ले, राम्रै काम गर्यो दुई हप्तापछि मलाई BGOS बाट फोन आयो | श्री जी तुरुन्त पासपोर्ट लिएर अफिस आउनु पर्यो, दुई ठाउँको visa लिनु छ schengen(सबै यूरोप देश घुम्न पाउने) visa र USA को visa | USA को visa लाई अलि टाइम लाग्छ त्यही भएर भोलि आइहाल्नुस् है ? मलाई कौतुहल भयो र सोधिहालें, कुन शिपको लागि होला हजुर ? जवाफ आयो queen mary 2 | सपना त होइन फेरि ? OMG !!! त्यो बेलाको संसारकै सबैभन्दा ठूलो, सबैभन्दा नाम चलेको, world tour गर्ने, british company को शिप | Thank you मामा, Thank you Chivas !!!
visa लिन खासै समस्या भएन, ३० दिन छुट्टी बिताएँ र लागें यूरोपतिर | यूरोप को समुन्द्रसँग छुने देशहरु प्राय: सबै घुम्ने अवसर जुर्यो | इटली, फ्रान्स, नोर्वे, स्पेन, पोर्चुगल आदि, अब दुई दिनपछि जर्मनी अनि (southompton) यूके त्यसपछि ७ दिन समुन्द्रको यात्रा अनि त ???…. New York | यो थियो हाम्रो शिपको itinerary. अब मेरो सानैदेखिको सपना पूरा हुनमात्र १० दिन बाँकी |
मेरो लाईफमा यस्तै बेलामा किन twist आउँछ ? कहानीमा फेरि भयन्कर twist. दोश्रो पटक सपना नजिकै पुगेर फेरि तुषारापात ???
हामी सेक्युरिटीमा काम गर्ने १५ जना नेपालीहरु थियौं, ११ जना केटा र ४ जना केटी | ४ जना केटीहरुमध्ये एक जनालाई Supervisor बनाउनु पर्ने थियो | सिक्युरिटी अफिसर खैरे थियो, उस्को रोजाई चैँ ‘सरिता गुरुङ’ तर यसमा सबै १४ जना सेक्युरिटीको असहमति | खैरेको रोजाईको कारण चैँ नखोली राखौं होला, हामी सबैको असहमतिको कारण चैँ अरु तिनै जना केटीहरु सरिताभन्दा telented र sinior पनि | सरिता सबैभन्दा नयाँ (रूप चैँ थियो है मोरीको) अनि उसैको तल बसेर काम गर्दा अरु बैनीहरुलाई कस्तो महसुस होला ? त्यति सानो कुरामा सहमति हुन सकेन | हामी हुँदै हुँदैन भन्ने, सिक्युरिटी अफिसरचाहिँ जसले सरिताको मुनी काम गर्न चाहान्न घर जान सक्छ भन्ने अडान लियो | हामी १४ जना सेक्युरिटीहरु मिटिङ गर्यौं र Nigel collett लाई E-mail पठाउने निर्णय गर्यौ, Nigel collett खैरे नै थियो र UK मा बसेर सबै शिपहरुमा भएको सेक्युरिटीहरुको प्रतिनिधित्व गर्थ्यो, सधैँ भन्ने गर्थ्यो कि हामी सिक्युरिटीहरुलाई केही पनि समस्या परेमा तुरुन्त आफूलाई खबर गर्नु, आफ्नो काम नै हामीहरुको हक र हितको लागि लड्ने हो, हामी सबैलाई पनि ऊ माथि धेरै विश्वास थियो | E-mail पाएपछि Nigel collett ले शिपको क्याप्टेनलाई सम्पर्क गरेछ, क्याप्टेनले बिहानै सिक्युरिटी अफिसरसहित सबै सिक्युरिटीको मिटिङ राख्यो | क्याप्टेनको एउटै अडान थियो कि, तिमीहरुले मलाई खबर नगरी कसरी शिप बाहिरको मान्छेलाई रिपोर्ट गर्यो ? तिमीहरुले chain of command को नियम उल्लंघन गर्यो रे उस्ले अन्तिममा निर्णायक प्रश्न सोध्यो कि, म सिक्युरिटी अफिसरको पक्षमा छु, के तिमीहरुको यही अन्तिम निर्णय हो कि सरिताको under मा काम नगर्ने ?
‘गोर्खाली बरु टुट्ना सक्छ झुक्न सक्दैन’ भने झैं सबै को उत्तर हो मा गयो | तुरुन्तै सबैको जे जति शिपले दिएको समानहरु थियो surrender गर्न लगाइयो, अझै सिधा भाषामा भन्नु पर्दा खोसियो भनौ अनि सबै जनालाई एउटै कोठामा लगेर कैदीको हिसाबले राखियो, यहाँसम्म कि खानको लागि mess मा जाने अनुमति पनि थिएन, खान कोठामै ल्याइदिने थियो, यस्तो किसिमले व्यवहार गरियो मानौं हामी १४ जना मिलेर कसैको हत्या गरेजस्तो | आर्मीको भाषामा भन्नु पर्दा सबैको कोर्ट मार्शलको कागज बनाइएको रहेछ र सबैलाई एउटा एउटा कागज दिएर signature गर्न लगाइयो | १४ जनामध्ये ३ जनालाई केही दिन काम चलाउनको लागि राख्यो, बाँकी ११ जनालाई शिप जर्मनी पुग्नसाथ एक घण्टाको समय दिइयो समान प्याक गर्नको लागि | फटाफट आफ्नो आफ्नो समान लिएर एक घण्टामै ११ जना शिप बाहिर |
एउटा सन्की खैरेको सन्की निर्णयलाई अरु सबै खैरेहरुले साथ दिएर १४ जना गोर्खाली एकैसाथ ‘कोर्ट मार्शल’|हामीलाई कसैले एकचोटी पनि यो प्रश्न नै गरेन कि तिमीहरु किन सरिताको under मा काम गर्न चाहन्नौ ? न क्याप्टेनले न त हामीले एकदमै विश्वास गरेको Nigel collett ले नै |
मेरो अन्तरात्माले त यो पनि भन्दै थियो, ‘हे गोर्खाली हो, अली अली त झुके पनि हुन्थ्यो नि एसरी टुट्नेभन्दा त, अब नेपाल गएर के गर्र्छ्स् ?’ तर म परें सबैभन्दा नयाँ, अरुले जे भन्छ त्यही हुन्छ, हुन्छ भन्नै पर्यो |
एक मनले त भन्दै थियो यतै जर्मनीतिरै लुकेर बस्नु पर्छ कि ? फेरि झ्वाट्ट मामाको याद आयो, अरु सबै केही नहुनेहरु त लुके छैन मेरो त मामा छ नि ! एअरपोर्ट पुग्नेबित्तिकै duty free तिर कुदी हालें Chivas खोज्न | यसपाली त झन् कोर्ट मार्शल भएर आएको भान्जा, पहिलेको भन्दा पनि दोब्बर ठूलो (1500 ml) को Chivas किनेँ |
जे होस् ठूलो ग्रुपमा यात्रा गर्दा रमाइलो नै भएको थियो | घर बेलुकातिर पुगेको थियो, घर पुगेर मेरो पहिलो काम नै मामाको मोबाईलमा फोन हान्ने भयो किनकि मामाको अनुमति पाउने बित्तिकै म 1500 ml को Chivas को बोतल बोकेर निस्की हाल्ने मूडमा थिएँ तर मामा कतै बाहिर पार्टीतिर पो हुनुहुँदो रहेछ क्यारे, मामाको फोनबाट चर्को म्युजिकको आवाज र मान्छेहरुको हल्लाखल्ला सुनिरहेको थियो | मामाले चिच्याउँदै भन्नुभयो भान्ज म अहिले बाहिर छु भोली बिहान घरमा आउनु त्यहीं भेटौंला | तर मेरो चहान सकेसम्म मामालाई बेलुका नै भेट्ने थियो किनकि पोर सँगै बसेर Chivas को चुस्कीको साथमा गरेको मीठोमीठो गफहरुको याद अझै मलाई ताज नै थियो त्यसैले मैले कुरा बनाउने कोसिस गरेँ, मामा भोली दिनमा त म अली बिजी छु भोली बेलुका भेटौँ हुन्न ? मामाको जवाफले मलाई अली दु:खी बनायो, मामा भोलीकै एक बजेको फ्लाईटबाट काठमाडौं जानु हुनेरहेछ । एक हप्ताको लागि, त्यसैले बिहानै आउनु रे आफू फ्री नै छ रे बिहान | शायद मामालाई पनि अन्दाज भइसकेकै हुनु पर्छ कि भान्जको गिफ्ट के छ भनेर | मलाई मन नलाई नलाई भए पनि हुन्छ मामा भन्न करै लाग्यो |
बिहान मामा घर पुग्दा, मामा शायद मेरै प्रतिक्षामा हुनुहुन्थ्यो । मैले गिफ्ट दिन साथ माइज्युलाई आदेश भयो, ‘एला त यो मेरो सुइट केसमा राख्दे ’ माइज्युको जवाफ थियो सुइट केसमा किन नि ? आएर खानु भए नि हुन्छ नि एक हप्ता त हो नि ? मामा एक हप्ता के कुर्नुहुन्थ्यो र ? केही छिनको भना भनपछि माइज्युलाई बोतल सुइट केसमा हाल्न करै लाग्यो | बिचरा मामा अहिले हुनुहुन्न R.I.P. त्यही भएर पनि मलाई सबै कुराहरु लेख्न सहज भइराखेको छ, उहाँ हुनुभएको भए लेख्नुअघि निकै सोंच्नु पर्थ्यो, लेखौं ? नलेखौं ?
माइज्युले दिनु भएको कालो चियाको रंग हेर्दा त उस्तै उस्तै देखिन्थ्यो, Chivas कै जस्तै तर काम धेरै फरक थियो, Chivas भए त घाँटीभित्र छिर्न साथ कुरा बाहिर निकालीहाल्थ्यो चियाले कुरा निस्कन गाह्रो भइरहेको थियो । फेरि पनि जसरी भए पनि कुरा त निकाल्नै पर्यो | मामालाई दया जगाउने उद्देश्यले आफ्नो अनुहारलाई जतिसक्दो भाबुक बनाउँदै शिपको कहानी शुरु गरेँ तर मामालाई त queen mary 2 को खबर पहिले नै आइसकेको रहेछ | खबर शिपकै क्याप्टेनहरुले नै गर्यो होला र पक्कै पनि उनीहरुकै हिसाब ले गर्यो होला | मामा अली झस्किँदै सोध्नु भयो ‘ओ हो त्यही ११ जनामध्ये को हो तपाईं ? यो तपाईं भन्ने शब्दले मलाई चसक्क घोच्यो, हुन त तिमीभन्दा तपाईं धेरै सम्मानको शब्द हो तर सधैँ तिमी भनी राख्ने मान्छेले तपाईं भन्यो भने होच्याएर भने जस्तो लाग्ने रहेछ, फेरि पनि आफूलाई सम्हाल्दै जति हुन सक्छ रुन्चे अनुहार बनाउँदै कुराहरु बताउँदै थिएँ तर मलाई थाहा भयो कि, मामालाई मेरो कुरामा केही interest थिएन उहाँ त जति हुन सक्छ छिटो चिया सिध्याउने ध्याउन्नमा हुनुहुन्थ्यो र घरिघरि आफ्नो नारीको घडी हेर्दै हुनुहुन्थ्यो | चियाको अन्तिम चुस्की लिंदै उहाँले भन्नु भयो लौ त श्री मेरो त समानहरु प्याक गर्नु बाँकी नै छ फेरि कुरा गर्दै गरौंला नि है !
मलाई हाम्रो मामा भान्जाको नाताको डोरी च्वाट्ट छिनेजस्तो लाग्यो | यही भएर बेलुका नै भेट्न चाहन्थेँ मामालाई, बेलुका भेटेको भए Chivas ले केही काम गर्थ्यो कि शायद ? मलाई लाग्छ कुलमान घिसिङको शुत्र Right man in right place मा एउटा शब्द छुटेछ Right time | खास हुनु पर्ने “Right man in right place and right time”
मेरो सानैदेखिको New York पुग्ने सपनाको यो पुल पनि झ्वाम्मै भत्किएजस्तै लाग्यो मलाई, फेरि पनि जसरीतसरी New York पुगेरै छाडें, कसरी ? माफ गर्नुहोला त्यो रोचक कहानीको लागि अर्को अंक कुर्नै पर्ने भयो तपाईंले |






