पोखरा वैशाख २२।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण भएको छ ।
मंगलबार दिएको स्वाब परीक्षणमा उनमा संक्रमण देखिएको हो । स्वाब परीक्षण पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको थियो । कोरोना परीक्षण नगरी प्रदेशसभा बैठकमा सहभागी हुन दिन नहुने भन्दै उनी पक्षका सांसदहरुले सदन बैठक अवरुद्ध गरेपछि उनी पनि परीक्षणमा परेका थिए ।
अहिले उनी होम आइसोलेसन बसेका छन् । मुख्यमन्त्रीलाई कोरोना पुष्टी भएलगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मंगलबार बोलाएको संसदीय दलको बैठकमा गुरूङ सहभागी थिए ।
यसअघि मुख्यमन्त्री गुरूङले गत शुक्रबार काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । शनिबार मात्र पोखरा फिर्ता भएका थिए ।






