
काठमाडौं, २४ वैशाख । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेका छन् । उनले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा शुक्रबार साँझ सगरमाथाको चुचुरामा पुगेपछि यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहणका लागि बाटो पनि खुला भएको छ ।
डोरी टँगाइ टोली साँझ ६:०० बजे चुचुरामा पुगेर आरोहणको ढोका खोलेसँगै सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण शुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले रोप फिक्सिङसँगै सगरमाथा आरोहण शुरु भएको जनाउँदै आरोहणमा संलग्न टोलीलाई बधाई ज्ञापन गरेकी छन् ।
सेभेन समिट ट्रेक्समार्फत गएको शेर्पा टोलीले सगरमाथा आरोहण खुलाएको हो । सगरमाथाको आधार शिविरमा रहेका निर्देशक आचार्यले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छन् , ‘सगरमाथा हिमचुलीमा आज २०२१ मे ७ तारिखका दिन बेलुकीको ६ बजे रोप पुगेको छ । यस वर्षको सगरमाथाको पहिलो समिट भएको छ । कामीरिता शेर्पाले नेतृत्व गरेको रोप फिक्सिङ टिमलाई बधाई ।’
रोप फिक्सिङ टोलीमा कामीरिता, तेञ्जिङ शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, मिङ्माजोजी शेर्पा, फुरतेन्जी शेर्पा, ल्हाक्पानोर्बु शेर्पा, फुर्बाछिरिङ शेर्पा, छेटेनजोर्जी शेर्पा, तेन्जिङग्याल्जेन शेर्पा र फुर्बाकुसङ शेर्पा छन् ।






