बेलायतको चेरीउड वार्डमा पहिलो नेपाली काउन्सिलर बने नेम थापामगर

SHARE:

लन्डन वैशाख २४ । बेलायतको चेरीउड वार्डको काउन्सिलरमा नेम थापामगर विजयी भएका छन् ।

शुक्रबार बेलुकी सार्वजनिक मत परिणामअनुसार थापा ८ सय ९८ मतसहित काउन्सिलर पदमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले ८ सय ६ मत प्राप्त गरे ।

थापामगरले कन्जरभेटिभ पार्टीबाट उम्मेदवारी दिएका थिए । करिब २७ सय जम्मा मतदाता रहेको फार्नबरो चेरीउड वडामा १७ सय १७ मत खसेका थिए ।

काउन्सिलर पदमा निर्वाचित थापामगर मगर संघ युकूका निवर्तमान अध्यक्ष हुन् । नेम थापामगरको जन्म बाबा जितबहादुर थापामगर र आमा सेतीमाया थापामगरको कोखबाट सन् १९६४ मा तनहूँ, ब्यास नगरपालिका–१४, केशवटार, नयाँगाउँमा भएको हो । उनले प्रारम्भिक शिक्षा अमरज्योति प्राथमिक विद्यालय केशवटारबाट ग्रहण गरेका थिए भने माध्यमिक विद्यालयको अध्ययन केशवटार माध्यामिक विद्यालयबाट पूरा गरेका थिए ।

सन् १९८३ मा अन्य जनजातिका छोराहरुजस्तै थापामगर छाती नाप्दै ब्रिटिस आर्मीमा आबद्ध भएका थिए । लामो समय ब्रिटिश आर्मीमा अनुभव बटुलेका थापामगर ब्रिटिश आर्मीबाट अवकाशपश्चात जागिरको शिलशिलामा बहराइन पुगेका थिए । उनी बहराइनमा रहँदा संसारकै ख्यातिप्राप्त डि यच एल कम्पनीको क्षेत्रीय अनुसन्धान विभागको म्यानेजर तथा रेक्रुटिङ अफिसरको रुपमा कार्यरत थिए । डीएचएल अनुशन्धान बिभागको क्षेत्रीय राष्ट्रहरुमा बहराइन, अफगानिस्तान, इरान, यमन , ओमान, युएई, साउदी अरेबिया, कतार, कुबेत, इराक, जोर्डन, सिरिया र लेबनान थिए । थापामगर बहराइनमा रहँदा नेपाली समाज बहराइनको अध्यक्ष पदमा समेत आसिन थिए ।

भूतपूर्व ब्रिटिश गोर्खाहरुले बेलायतमा बसोबास गर्ने अधिकार प्राप्त गरेपछि नेम थापामगर पनि अन्य गोर्खाहरुजस्तै हुनेखाने जागिर छोडेर सन् २००६ मा बेलायत भित्रेका थिए । बेलायत भित्रेपछि थापामगरले मगर संघ युकेको सचिव, उपाध्यक्ष र अध्यक्षको जिम्मेवारीको अनुभव बटुलिसकेका छन् भने उनी ग्रेटर रसमुर नेपाली कम्युनिटीका बहालवाला उपाध्यक्ष पनि हुन् ।

अङ्ग्रेजी भाषामा पोख्त थापामगरले एक उद्यमशील व्यवसायमा पनि विशेष अनुभवहरु बटुलिसकेका छन् । उनी बेलायती राजनीतिमा होमिनुको मुख्य उद्देश्य बेलायती जनता र बेलायतवासी नेपालीहरुसँग सहकार्य गर्दै बेलायतवासी नेपालीहरुको हक, अधिकार र सुविधा उपलब्ध गराउनु रहेको छ भने बेलायती र नेपाली जनतासँग सहकार्य र एकता गरी बेलायत र नेपाललाई जोड्ने एउटा पुल निर्माण गर्ने योजना रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!