गत शनिवार ९ जुन २०१८ बेलायतकी महारानी इलिजाबेथ द्वित्तीयको जन्म दिनको अवसरमा ब्रिटिश आर्मीमा कार्यरत कर्पोरल निर्मल पुर्जा मगर Member of British Empire (MBE) द्वारा विभूषित भएका छन् । उनले संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि ८००० मिटर अग्लो लोत्से हिमालको चुचुरोसम्म १० घण्टा १५ मिनेटमा पार गरी गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भएका थिए । उनले यो कृतिमान २७ मे २०१७ को दिनमा कायम गरेका थिए ।
उनी पुख्र्यौली घर म्याग्दी अन्नपूर्ण गाउँपालिका दाना, स्थायी घर चितवन हाल रोयल मरिनमा कार्यरत छन । कर्पोरल पुर्जा मगरको प्रारम्भिक शिक्षा पोखरास्थित मनकामना बोर्डिङ स्कुलबाट शुरु भएको थियो भने इस्माल हेभन बोर्डिङ स्कुल चितवनबाट प्रबेशिका परीक्षा उतिर्ण गरेका थिए । बिर गोर्खालीको सन्तान तथा कुलमा जन्म लिएका निर्मलले पनि उनका पुर्खा तथा दाइहरुको पाइलाहरु पछ्याउँदै सने २००३ मा पोखरास्थित ब्रिटिश क्याम्पमा ब्रिटिश आर्मीमा भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिंग सेन्टरबाट ब्रिटिश आर्मीको आधारभूत तालिम गरेका थिए । कर्पोरल पुर्जा ब्रिटिश आर्मीको आधारभूत तालिममा सफलतापूर्वक सम्पन्न गरी च्याम्पियन रिक्रुटको उपाधि लिएर कुइन्स गोर्खा इन्जिनियर्समा गएका थिए ।
कुइन्स गोर्खा इन्जिनियर्सको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ एण्ड डेकोरेसन ट्रेडमा कार्यरत थिए । कुइन्स गोर्खा इन्जिनियर्समा कार्यरत रहँदा उनलाई ब्रिटिश आर्मीको कमान्डो गर्ने अवसर मिल्यो र उनी कमान्डो तालिम गर्न डेभोनसायरको डेभोनतिर हानिए । उनले कमान्डोको तालिम पनि सफलतापूर्वक सम्पन्न गरी उच्च ग्रेड लिएर कमान्डो भएका थिए । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ कर्पोरल निर्मल पुर्जा बेलायतको रक्षा मन्त्रालयको Royal Nevy अन्तर्गत Special Boat Sevice (SBS) हुने मौका मिल्यो । जुन उपाधि ब्रिटिश आर्मीमा गोर्खालीको २०० वर्षको इतिहासमा Special Boat Sevice (SBS) गर्ने उनी पहिलो गोर्खा SBS हुन । हालमा उनी सो विभागमा Mountain Specilist को रुपमा कार्यरत छन् । संसारको प्रायः सबै हिमाल चढिसकेका उनले Mountainring बिषयमा ग्राजुयट गरेका छन ।
कर्पोरल पुर्जा अतिनै बहादुर, दुरदर्शी, अनुशासित, लगनशील, बफादार र देशभक्त छन भन्ने उनका कामहरुले नै पुष्टि गरिसकेको छ । कर्पोरल निर्मल पुर्जा बाबा नन्द बहादुर पुर्जा र आमा पूर्ण कुमारी पुर्जाको कोखबाट जन्मिएका हुन भने तीन दाजुहरु गंगाबहादुर पुर्जा, जितबहादुर पुर्जा र कमल बहादुर पुर्जा हुन भने एक बहिनी अनिता पुर्जा हुन । निर्मल जीवन संगिनी सूचि गुरुङ पुर्जासँग बेलायतमा स्थायी बसोबास गरिरहेका छन ।
प्रस्तुति : चिम्खोले काइँला






