काठमाडौं वैशाख ३० ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष निवेदन पेस गर्ने सहमति भएको छ।
दुई नेताबीच बिहीबार अपराह्न भएको करिब एक घण्टा लामो भेटवार्तामा यस्तो सहमति भएको बताइएको छ । वैशाख २७ गते संघीय संसद्मा विश्वासको मत लिन नसकेपछि केपी ओली नेतृत्वको सरकार कामचलाउमा परिणत भएको छ। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ। सोहीअनुसार नयाँ प्रधानमन्त्रीका लाागि कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष निवेदन पेस गर्ने सहमति भएको हो।






