
काठमाडौं वैशाख ३० । नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसद्को सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिए ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्मा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए ।
जनता समाजवादी पार्टी -जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएन । बहुमत नपुग्ने भएपछि कांग्रेस-माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेन ।
त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दललाई सरकार गठनको अवसर दिएकी हुन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।







