
लन्डन वैशाख ३१ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके र रस्मुर बरो काउन्सिलबीच बैठक सम्पन्न भएको छ । स्थानीय रस्मुर बरो काउन्सिलले अल्डरसटस्थित बिसीसी युकेको गुम्बासँगै जोडिएर रहेको परसन व्यारेक नामक कारपार्क बिक्री गरी भवन निर्माण प्रक्रिया अघि बढाएपछि सो कारपार्कको आवश्यकताबारे जानकारी गराउने उद्देश्यले सो बैठक बसेको हो ।
गत बुधबार १३ मे साँझ बिसीसी यूकेको गुम्बा परिसरमा सम्पन्न बैठकमा बिसीसी यूकेका पब्लिक रिलेशन अफिसर मेजर खिम गौचनले उक्त गुम्बाबाट दैनिक रुपमा सम्पन्न हुने धार्मिक पूजापाठ, अन्त्येष्टी, बैबाहिक कार्यक्रम, साँस्कृतिक कार्यक्रम, भक्तजनहरुको सहभागिता लगायतको विषय पावर पोइन्टमार्फत जानकारी गराउँदै कारपार्कको आवश्यकताबारे औंल्याएका थिए । साथै, उनले कारपार्क बिक्री प्रक्रियामा रहेको जानकारी पाउन साथ आफूहरुले बिक्रि नगर्न तुरुन्तै काउन्सिललाई पत्रचार गरिएको तर काउन्सिलबाट कुनै पनि प्रतिक्रिया प्राप्त नभएको गुनासो व्यक्त गरे । सो अवसरमा काउन्सिल लिडर काउन्सिलर डेबिड क्लीफोर्डले सो कारपार्क बिक्रीबाट पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै कारपार्कमा भवन निर्माणका लागि प्लानिङ्ग प्रमिशन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको भए तापनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले सो कारपार्कबारे १९ मे भित्र पुनः छलफल गर्न आफू तप्पर रहेको बताउँदै बिसीसी युकेलाई बैठकका लागि निम्तो दिए ।
बैठकमा बिसीसी यूकेका अध्यक्ष धर्म तामाङ, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, उपाध्यक्ष हर्क गुरुङ, रोबिन गुरुङ, महासचिव क्या. देब घले, कोषाध्यक्ष मेजर हितमान गुरुङ, पब्लिक रिलेशन अफिसर मेजर खिम गौचन, असिस्टेन्ट पब्लिक रिलेशन अफिसर जोया कम्बेल, ट्रष्टीज मेजर कुल थापा, आमा समूहकी सचिव शारदा गुरुङ, सदस्य पवित्र गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, रस्मुर बरो काउन्सिलको तर्फबाट काउन्सिल लिडर काउन्सिलर डेबिड क्लीफोर्ड, काउन्सिलर आलेकस क्राफोर्ड, नवनिर्वाचित काउन्सिलर जीवनारायण बेल्वासे, काउन्सिलर नेम थापा, एक्ज्युक्युटिभ डाइरेक्टर अफ रस्मुर बरो काउन्सिल (भर्चुयल) केरिन एडवर्क, अल्डरसट फुटबल क्लवका शाहिद अजिम लगायतको उपस्थिति रहेको थियो ।
सन् २००७ सालमा स्थापना भएको बिसीसी युकेले उक्त भवन सन् २०१२ मा खरीद गरी मर्मत संभार गरी सन् २०१५ देखि संचालनमा ल्याएको थियो भने सन् २०२० मा तल थप गरि अहिलेको महामारीको अवस्थामा समेत भक्तजनहरुलाई सेवा दिँदै आएको छ ।






