
लन्डन जेठ २ । ह्यारी गुरुङ साउथ इष्ट लन्डन रिजनल तमुधिंको अध्यक्षमा निर्विरोध भएका छन् । उनी यसअघि उपाध्यक्ष थिए ।
आउँदो दुई वर्ष संस्थाको नेतृत्वको नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न निर्धारित समयसीमाभित्र अध्यक्ष पदमा गुरुङको एकल उम्मेदवारी परेको साउथ इष्ट तमुधिं स्रोतले जनाएको छ । ती स्रोतका अनुसार अध्यक्षसँगै २३ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध बनेका छन् । नयाँ कार्यसमितिको औपचारिक घोषणा अर्को आइतबार भर्चुअल माध्यमबाट हुने संस्थाको अधिवेशनले गर्नेछ ।
अध्यक्षमा निर्विरोध गुरुङ हङकङ नेपाली मञ्च यूकेको वर्तमान कार्यसमितिमा पनि अध्यक्ष छन् । एनआरएनए यूकेमा समेत उनी कार्यसमिति सदस्यका साथै खेलकुद विभाग प्रमुखको जिम्मेवारीमा छन् । साउथ इष्ट रिजनल तमुधिंमा सन् २००७ देखि नै सक्रिय अभियन्ता हुन् ह्यारी गुरुङ । उनले यसअघि संस्थाको कार्यसमितिमा सह-कोषाध्यक्ष, महासचिव र उपाध्यक्षजस्ता महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।






