लन्डन जेठ ५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदमा प्रत्यासी दीपक श्रेष्ठ आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा स्कटल्यान्ड पुगेका छन् । सोमबार साँझ स्कटल्यान्डको एडिनबरामा स्थानीय संघसंस्थाका प्रतिनिधि र एनआरएनए अभियन्ताहरुसँग श्रेष्ठले छलफल गरे ।
श्रेष्ठसंगको छलफलका लागि स्कटल्यान्डको एडिनवरा, ग्लास्गो, पर्थ, फाइफ भ्याली लगायतका क्षेत्रका अभियन्ताहरु भेला भएका थिए ।दुई चरणमा गरी भएको छलफल उपलब्धिपूर्ण र उत्साहबर्द्धक भएको इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष समेत रहेका एनआरएनए युके अध्यक्ष प्रत्यासी श्रेष्ठले बताए ।
‘स्कटल्याण्डस्थित नेपाली समुदायमा एनआरएनए अभियानप्रतिको चासो र सद्भाव विशेष रहेको पायौं’, उनले भने, ‘अब उहाँहरुको सहभागिता पनि कसरी अझै व्यापक पार्दै लैजाने भन्नेबारे हामीले गहन छलफल गर्यौं ।’स्कटल्यान्डका विभिन्न क्षेत्रबाट भेला भएका संघसंस्थाका प्रतिनिधि र अभियन्ताहरुप्रति धन्यवाद ज्ञापन गर्दै श्रेष्ठले भने, ‘स्कटल्यान्डबाट व्यक्त चासो र भावनाप्रति मेरो उच्च सम्मान र ऐक्यबद्धता छ ।उहाँहरुकै आवाजको प्रतिनिधित्व गराउने प्रतिबद्धता मैले जनाएको छु।’
कार्यक्रमको संयोजन गर्ने नेपाल स्कटल्यान्ड एशोसिस एवम् पासा पुच: स्कटल्यान्डका अध्यक्ष विजय डंगोलले एनआरएनए युकेको अध्यक्षमा श्रेष्ठको उम्मेदवारीमा स्कटल्यान्डबाट समर्थन जनाइएको बताए । त्यसअवसरमा स्कट नेपाल क्लबका उपाध्यक्ष राजु बम, भलिवल खेलाडी राम श्रेष्ठ, हिमालयन सेन्टरका संरक्षक एवम् एनआरएनए युके सल्लाहकार भोला खनाल, एनआरएनए युके राज्य समन्वय परिषद स्कटल्यान्डका अध्यक्ष छविलाल अर्याल, सचिव दिवाकर पान्डे, सहकोषाध्यक्ष भोजराज खरेल र सदस्य शिव खरालसहितको उपस्थिति थियो ।
त्यसैगरी, दियो क्लबका युके स्कटल्यान्डका अध्यक्ष कृष्ण देवकोटा, फाइफ नेपाली कम्युनिटीका अध्यक्ष रामप्रसाद वगाले, नेपाल स्कटल्यान्ड एशोसिसनकी उपाध्यक्ष कमला श्रेष्ठ, पासा पुच स्कटल्यान्डका चरण प्रधान, वैकुन्ठ महर्जन, राम श्रेष्ठ, युवा व्यवसायी तथा अभियन्ताहरु प्रकाश कार्की, ज्ञान गुरूङ, युवराज तिवारी, भुवन न्यौपाने, प्रवेश सुवेदी लगायत पनि छलफलमा सहभागी थिए ।






