काठमाडौं जेठ ६ ।

वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन्।
हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् । खिमलाल देवकोटा पाँच हजार ८८ मतभार सहित विजयी भएका हुन् । यस्तै रामबहादुर थापाले चार हजार १४ मतभार र कृष्णगोपाल तामाङले एक सय ३२ मतभार प्राप्त गरेका छन् ।
माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव भएको हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।






