प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई बलिदान दिए : सीपी गजुरेल

SHARE:

वरिष्ठ नेता, नेकपा (क्रान्तिकारी माओवादी)
नेपालमा केपी ओली नेतृत्वमा दुई तिहाई बहुमतको सरकार चलिरहेको छ । यो सरकारले समृद्ध मुलुक, सुखी नेपाली बनाउने र देशलाई समाजवादतर्फ अघि बढाउने भनिरहेको छ । र, आफ्ना कार्यक्रम, गतिविधि त्यसैमा केन्द्रित गरिरहेको उसको दाबी छ । सरकारले केही क्षेत्रमा सुधारात्मक प्रयास पनि गरेको छ । सँगै विभिन्न कोणबाट सरकारको टीकाटिप्पणी र आलोचना पनि भइरहेका छन् । सरकारले स्वेच्छाचारिता प्रदर्शन गरेको, अधिनायकवादतर्फ जान खोजिरहेको मुख्य विपक्षी दल कांग्रेसले आरोप लगाइरहेको छ भने साना वामपन्थी दलबाट पनि सरकार गलत दिशातिर गइरहेको आरोप लगाइरहेका छन् ।

सरकार गठन भएको चार महिना नपुग्दै पक्ष, विपक्षमा गरिएका तर्क वितर्क कति स्वार्थपूर्तिका लागि हो अथवा यथार्थता भविष्यले निर्धारण गर्ला । सरकारको विपक्षमा आलोचना गरिरहेको दलमध्ये मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पनि एक हो । उल्लेखित सन्दर्भमा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, गजुरेलसँगको कुराकानीको सम्पादित अंश ।
सरकार बनेको चार महिना पनि पुगेको छैन, तर तपाईहरु ओली सरकारप्रति नकारात्मक हुनुभयो किन ?
सरकार भर्खरै बनेको भन्दा पनि सय दिनलाई हनिमुन पिरियड भनिन्छ । सय दिन त नाघिसक्यो पनि । यो सरकारले चुनावको दौरानमा जो वाचा, कबुल गरेको थियो, जनतालाई यो दिन्छु, त्यो दिन्छु भनेर । त्यो कुनै पनि कुरा नदिएपछि जनतालाई धोका भयो । त्यसो गर्न पाइँदैन । त्यसैले हामी विरोध गरिरहेका छौं ।
दोस्रो कुरा, जो हुँदै नहुने कुरा यो सरकारका प्रधानमन्त्री, मन्त्रीले बोलिराखेका छन् । त्यसको भ्रममा परेका जनतालाई प्रस्ट गर्न ती कुराको विरोध गर्न परिहाल्यो ।
धोका र हुँदै नहुने कुरा भनेको के हो ?
धोका भनेको, निर्वाचनको दौरानमा राष्ट्रिय स्वाधिनताको रक्षा मैले गर्छु, गर्दै पनि आएँ । हामीनै गर्छौंं भनेरले प्रधानमन्त्रीले भन्नुभयो । पछिल्लो चरणमा भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा त्यो राष्ट्रियताको पोल सबै खोलिहाल्यो । ओलीजी त नांगेझार भएर प्रस्तुत हुनुभयो । दोस्रो कुरा, उहाँले समृद्ध देश, सुखी जनता नारा चुनावको दौरानमा दिनुभयो । धेरैलाई आशा थियो, त्यो कुरा अहिलेको बजेटमा केही न केही हुन्छ होला, देशलाई समृद्धितिर लैजाने, जनतालाई सुखी पार्ने । तर, बजेटमा केही पनि भएन । त्यसो हुनाले जनतालाई यसरी धोका दिनु हुँदैन । जनतालाई धोका भयो भनेर हामीले यसो भनेका हौं ।
जनताको चिन्ता लागेर भन्नुभएको कि आफ्नो राजनीति गर्न ?
जनताको चिन्ता पनि हो । राम्रो गरेको भए यी कुरा निस्कने थिएन, राजनीतिको कुरा त्यहाँबाट आउँछ । यदि ती सबै कुरा उहाँले गरेर देखाइदिनुभएको भए त हामीले मात्रै विरोध गरेर हुन्थ्यो र ! नहुने कुरा गरेको भए त जनताले त हामीलाई नै गलत भन्थ्यो । त्यो कुरा त सरकारको व्यवहारबाट पुष्टि भयो नि त । जनता ठूलो धोकामा परे । के के कुरामा त्यस्तो भयो भनेर जनतालाई बुझाउँदा ओलीजी ठीक भनेर बुझाउन नसकिने भो, विरोधै गर्नुपर्छ ।
हैन, भारतसँग सम्बन्ध सुधार्नु गलत हुन्छ ?
सम्बन्ध सुधार्नुमा हामीले गलत भनेकै छैनौं, सम्बन्ध सुधार्नका लागि त्यस्तो गर्न पर्दैनथ्यो । सम्बन्ध सुधार्न राजस्थानी पोसाकमा सजिएर, मोदीले समेत भाइसाब भन्नुपर्ने अवस्थामा पुग्नुपर्ने थिएन । सम्बन्ध सुधारका लागि राजधानीलाई छोडेर बाहिरको एउटा सहरमा नागरिक अभिनन्दन गर्नुपर्ने थिएन । सम्बन्धै सुधार्नका निम्ति नागरिक अभिनन्दनको दौरानमा मधेस देशमा आपका स्वागत है भनेर बोर्डचाहिँ टाँगेर देखाइरहनुपर्ने आवश्यकता थिएन ।
सम्बन्धै सुधार गर्नका निम्तिचाहिँ मोदी आउँदाखेरी भारतीय स्पेसल कमाण्डो ८६ जनालाई नेपाल पसाउनुपर्ने आवश्यकतै थिएन । र, त्यत्ति सस्तो आयोजना अरुण तेस्रोलाई यहाँबाट शिलान्यास गर्नुपर्ने आवश्यक पनि थिएन । यी सबै कुराहरु जो भए, सम्बन्ध सुधार गर्न स्वतन्त्र राष्ट्रले जुन मापदण्ड अपनाउँछ, त्यो अपनाइएन । सम्बन्ध सुधार गर्ने नाममा एउटा प्रधानमन्त्रीले आत्मसमर्पण गरेर राष्ट्रिय हितलाई बलिदान दिए । त्यसको हामीले विरोध गरेका हौं ।
यो परिणामले पछि देखाउने कुरा हो । उहाँ (प्रधानमन्त्री) केही दिनमा चीन पनि जाँदै हुनुहुन्छ । तपाईहरुले भनेर हुने कुरा हो र ?
हामीले देखिसकेको कुरा गरेका हौं, नदेखिएका त अझै छन् । कोसी उच्च बाँधको सम्झौता भएको भन्ने छ, त्यो देख्या छैन । त्यो उठाउँला भनेर हामी प्रतिक्षामा छौं । बाहिर नदेखिएका कुरालाई हामी हचुवाको ढंगले विरोध गर्दैनौं, गर्नु पनि हुँदैन । चीन गएर के गर्नुहुन्छ उहाँले, बाँकी नै छ । चीनको कुरा अहिलेसम्म हामीले उठाएकै छैनौं । चीनसँग उहाँले राम्रो कुरा गर्नुभयो भने पनि यो फच्चेचाहिँ हुँदैन । अरुण तेस्रो फिर्ता हुन्छ ?, नेपालमा कमाण्डो फोर्स ल्याएर रेकी गर्न लगाए, के त्यो फिर्ता हुन्छ ? उहाँले राजस्थानी पोसाकमा सजिएर जुम्ल्याहा दाजुभाइ जसरी मोदीसँग फोटो खिचाउनुभयो, त्यो मेटिन्छ अब ? मेटिदैन । इतिहासमा त्यस्ता कुराहरु मेटिदैन, जो भयो भयो । पछि त्यसमा सुधार हुन सक्ला । मैले गल्ती गरेँ भनेर उहाँले भन्नु होला । माफी माग्नु होला, त्यो बेग्लै कुरा । मानी लिउँ, चीनसँग एक, दुई राम्रा कुरा भए भने अब फच्चे भयो भन्न मिल्दैन ।
अब बजेटको सन्दर्भ, सरकारले गर्छु भनेको छ त ? देशको अर्थतन्त्रको स्थिति हेरेर बजेट ल्याएको छ, यो बनाउँछु भनेको छ, सामाजिक न्याय, समाजवादमा जान्छु भनेको छ त ?
यो तरिकाले समाजवादमा गइँदैन । कुन समाजवाद भनिएको हो, समाजवादका भेराइटी पनि छन् । यो त पुँजीवाद पनि होइन, यसलाई विकृत पुँजीवाद भन्छ । ७० वर्ष पुगेका वृद्धवृद्धाहरुलाई ५ हजार भत्ता गराइदिन्छु भनेका थिए । तर, बजेटमा एक लाख स्वास्थ्य बीमा भनेर लेखियो त्यसरी जनतालाई धोका दिन मिल्छ ? हामीले ९४ बुँदे सुझाव दिएका थियौं त्यसलाई समेटेर नीति तथा कार्यक्रम बनाउँदा राम्रो हुने थियो तर ओलीजीले हुन्छ भने, केही पनि समेटिएन । सक्नु पनि हुन्न किनभने उहाँले जुन वर्गको प्रतिनिधित्व गर्नहुन्छ, त्यो वर्गले गर्नै दिँदैन । भ्रष्टाचार उहाँले हटाउन खोजेकै होला । उहाँले बारबार भन्नुहुन्छ, ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ ।’ तर, तल गएर हेर्ने हो भने भ्रष्टाचार यत्ति व्यापक छ, व्यक्तिगत, हरेक किसिमका छन् । तस्करी त्यस्तै छ । हाम्रा बादलजी ‘ठूला माछा’ समाउँछु भनेर कस्सिनुभो । तर, प्रचण्डजीले उहाँलाई बोलाएर यस्तो वाहियात काम पनि गर्ने हो भनेर हकार्नुभयो भन्ने मिडियामा पढेँ । त्यसपछि ठूला माछाहरुको कुरै गर्न छोड्नु भो । खाली साना माछाको मात्र कुरा गर्नुहुन्छ । उहाँबाट सम्भव हुँदैन किनभने त्यही जालोले उहाँहरुलाई चुनाव जिताएको हो, तिनै ठेकेदारले चन्दा दिएर चुनाव जित्नु छ, तिनै ठेकेदारलाई कसरी जेल हाल्नुहुन्छ । सम्भव हुने कुरा भएन । सबै कुरा उनीहरुले बाहिर ल्याइहाल्छ नि !
पहिले सरकार अस्थिर थियो, अब स्थिर सरकार बनेको छ, प्रयत्न गरिरहेको छ, पर्खन सकिन्न ?
सबै कुरा सजिलै हुन्छ भनेर पहिले जनतालाई भ्रममा पारे, तर हुनेवाला थिएन ।
तपाईहरु पनि चुनावमा हार्नुभयो, उहाँहरुले जित्नुभो ?
उहाँहरुसँग साधन थियो, त्यो वर्गले साथ दियो । अनि जनतालाई भ्रम दिन सक्नु भयो, हामी त्यो वर्गको पक्षमा जाँदा पनि गएनौं । हामीले त्यसरी चुनाव लडेको पनि होइनौं । हामीले चुनावमा जाँदा जित्नका लागि पनि लडेको होइन भन्यौं ।
तपाईहरु राम्रो गर्छु भन्दा कट्ने उहाँहरु जोडिने स्थिति देखियो । भनेपछि कसको नीतिलाई जनताले अनुमोदन गर्‍यो भन्ने होला नि ?
त्यसरी हिसाब गर्ने हो भने त, पञ्चायती व्यवस्था कहिल्यै पनि नहट्नुपर्ने । पञ्चायती व्यवस्थामा गैरपञ्चायतीले बोलेको कुरा कसैले सुन्थ्यो ? अलिकति बोल्यो कि पञ्चहरुले घेरेर कस्तो बनाउँथ्यो । बीपी कोइरालालाई प्लेन चढ्नसमेत नदिएर एयरपोर्टमा कस्तो हालत भएको थियो । त्यत्तिखेर पञ्चहरुको बोलवाला थियो, जनतालाई पञ्चहरुलाई मात्र मानेजस्तो देखिन्थ्यो । हो र छ र, होइन नि !
नेपालमा परिवर्तन संस्थागत हुनबेलामा व्यवस्था भएन भनेर १०, १५ वर्षमा नयाँ आन्दोलन उठ्ने गर्छ । कतै तपाईहरु पनि अस्थिरता ल्याउन खोजिरहनुभएको त छैन ?
हामी जनगणतन्त्र ल्याउन दस वर्ष जनयुद्ध लड्यौं । तल्लो वर्गको, जनताको अधिनायकत्व स्थापित गर्नका निम्ति लड्यौं । हामीले सकेनौं, परिवर्तन भएन । त्यो परिवर्तन भएको भए यो हुन्थेन ।
गुणात्मक परिवर्तन नभए पनि मात्रात्मक त भयो नि ?
केही पनि परिवर्तन भएन भनेका छैनौं, हामीले चाहेको परिवर्तन भएन । त्यो नभएसम्म समाजको गति अगाडि बढ्छ, बढ्छ । यो मेरो इच्छा होइन, विज्ञानको हो । किनभने समाज पनि विज्ञानको नियमअनुसार अगाडि बढ्छ । त्यसरी अगाडि बढ्दै जाँदा जनताका मागहरु या आन्दोलनका मागहरुलाई सम्बोधन नगरिकन, बीचैमा टुंग्याइदिएको हुनाले रोकिन्न ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!