संगीत तपस्या हो : कृष्ण मेन्याङ्बो लिम्बू

SHARE:

कुनै पनि काम गर्न रहरले मात्र हुँदैन, सबै कुरो जुर्नुपर्छ । झन् मान्छेले सोचेको सबै कुरो पुग्न त असम्भव नै हुन्छ । तर, नवगायक तथा समार्‍सेवी कृष्ण मेन्याङ्बो लिम्बू भने रहर पूरा भएको दाबी गर्छन् । उनले भर्खरै नयाँ जोस, जाँगर र उमङ्गका साथ नयाँ गीति एल्बम ‘मेरो रहर’ लिएर दर्शक, श्रोतामाझ आइपुगेका छन् । एल्बम निकाल्न र सांगीतिक यात्रामा कत्तिको दुःखकष्ट व्यहोर्नुपर्‍यो भन्नेबारे नवगायक लिम्बूसँग एभरेस्ट टाइम्सका लागि जानु काम्बाङ्ग लिम्बूले गरेका कुराकानी ः
तपाईं अहिले के गर्दै हुनुहुन्छ ?
युकेको बसाई काम नगरी हुन्न, प्रायः जागिरमा समय बिताउँछु ।
संगीत क्षेत्रमा कसरी लाग्नु भो ?
संगतले मान्छेलाई सपार्छ, बिगार्छ भन्छन् नि ! मेरो संगतचाहिँ ज्यादा संगीतकर्मीहरूसँग भयो, गीतकार, संगीतकार, गायक, गायिका । अनि संगीतको अथाहा महासागरमा मलाई डोर्‍याएर बाटो देखाउने मेरो मामाको छोरी (लुङ्वा बहिनी) गीतकार, कवयित्री जानु कामबाङ लिम्बुको महत्वपूर्ण भूमिका छ । सायद उनको साथ र सहयोग नपाएको भए म कोठामै मात्र गुनगुनाएर बस्थें होला, जानु बहिनीप्रति ज्यादै आभारी छु ।
बेलायतको यस्तो व्यस्ततामा गीत, संगीतको लागि कसरी समय मिलाइरहनु भएको छ ?
मान्छेको फुर्सदको समय त कहिलै पनि हुँदैन । बिहान उठेदेखि फेरि सुत्ने बेलासम्म कुनै न कुनै कुरोमा अति व्यस्त हुने प्राणी हामी मनुस्य हौं । तर, आपूmलाई के गर्न मन लागेको छ त्यो त समय मिलाएर भए पनि नगरीकन छोड्दैनांै । जसरी भए पनि गीत, संगीतलाई समय निक्लिँदोरहेछ, त्यसमै खुसी हुन्छु ।
एल्बम ‘मेरो रहर’ मा कस्तो खालका गीत छन् ?
यो मेरो पहिलो एल्बम हो । यसमा गजल, आधुनिक, सेलो भाका, मारूनी भाकाका गीतहरू छन् ।
संगीत शिक्षा को सँग लिनु भो ?
संगीत शिक्षा सर्वप्रथम त गायिका बानिका प्रधानबाट सुरू गरेँ । उहाँले मलाई नेपालबाट अनलाइन शिक्षा दिनुभयो । युके र नेपालको समय फरकले गर्दा निरन्तरता दिन सकिएन । अहिले युकेमा रहनुहुने गायिका सितु खरेलबाट संगीतको शिक्षा लिइरहेको छु ।
संगीत सिक्नु कत्तिको जरुरी छ ?
कुनै काम गर्नु अगाडि जति जान्नु आवश्यक छ, संगीतको यो महासागरमा तैरिनु जान्नको लागि यसको शिक्षाबेगर सम्भव हुन्न । त्यसैले गायकीमा मिठासपन ल्याउन संगीत शिक्षा लिन अत्यन्तै आवश्यक देखेको छु ।
यत्तिको एल्बम बजारमा ल्याउन कतिको संघर्ष र खर्च गर्नु पर्‍यो ?
एल्बम बनाउनु भनेको खर्चिलो नै हुन्छ । एउटा गीत रेकर्डिङमा कम्तीमा १० जनाभन्दा बढी मानिसले काम गरेको हुन्छ, ‘मेरो रहर’ एल्बममा ६ वटा गीत छन् । सिधा हिसाब निस्किन्छ नि ६० जना मान्छेको पारिश्रमिक कति होला ? काठमान्डूको महँगीले आकाश चुमेको छ, हजारको त हिसाब नै पो नहुने रहेछ ।
अचेल गायक, गायिका र गीतकारहरु बाक्लै रुपले जन्मिरहेका छन्, पहिलेको दाँजोमा यो सब अहिलेको सुविधायुक्त प्रविधिहरुले हो या साँच्चिनै साहित्य र कलाको क्षेत्र बढेको हो ?
हो नि, साँच्चिनै साहित्य र कलाको क्षेत्र बढेको हो । स्वदेशमा त स्वतः हुने नै भयो तर हामी विश्वका कुनै पनी कुनामा बसे तापनि नेपाली साहित्य र नेपाली कला संस्कृतिको लागी केही न केही गरिरहेको हुन्छौं । अहिलेको प्रविधिले साँच्चिकै सजिलो पारी दिएको छ । म जस्तो गीत, संगीत सिक्दै गरेको मान्छेलाई अहिलेको नयाँ प्रविधिले ठूलो मद्दत मिल्दोरहेछ ।
संगीत क्षेत्रलाई राम्रो बनाउन के के कुरामा सुधार गर्न जरुरी देख्नु हुन्छ ?
म त यो संगीतरूपी रेलमा चढेको भर्खर हो । अलि लामो यात्रा गरेपछि मात्र संगीतको जोडघटाउ आउला । तर, अहिलेसम्मको अनुभवमा चाहिँ गीत राम्रो हुन गीतकारको ठूलो भूमिका हुने रहेछ भन्ने बुझेँ । शब्द राम्रो हुनु पर्ने रहेछ ।
बेलायतमा रहेर नेपालका संगीतकारहरुसँग काम गर्न कत्तिको सजिलो र खर्चिलो छ ?
संगीतकारसँग प्रत्यक्ष भेटेर काम गर्दा पक्कै पनि धेरै सजिलो हुन्छ नि, तर दूर देशबाट फोनको भरमा काम गर्दा बिसको उन्नाईस त हुन्छ पक्कै पनि । मलाई त्यत्ति असजिलो भएको आजसम्म अनुभव छैन ।
खर्चिलोको त कुरै नगरौं होला । काठमान्डूको महँगी बलिउड र हलीउडको हाराहारी पुग्न लाग्यो ।
यो एल्बम स्रोतामाँझ ल्याउन कत्ति समय लाग्यो ?
“मेरो रहर” एल्बम पूरा गर्न डेढ़वर्ष जति लाग्यो ।
वास्तव संगीत के हो जस्तो लाग्छ ?
संगीत एक तपस्या हो, जो संगीतमा लिन् हुन्छ उसले एक प्रकारको शान्तिको अनुभव गर्छ । संगीतले मानव जीवनमा एक प्रकारको थेरापीको काम गर्छ । यी मेरा जीवन भोगाईको अनुभव हो । अरूसँग सायदै नमिल्न सक्छ ।
कस्ता खाले गीतहरु बढी सुन्न र गाउन रुचाउनु हुन्छ ?
गजल, आधुनिक अनि क्लासिकल टाईपको गीत सुन्छु । मलाई सुगम संगीत भएका गीत गाउन मन पर्छ ।
आजभोलि संगीत क्षेत्रको लगानी बालुवामा खन्याएको पानी भन्छन् नि । तैपनि गीत, संगीतको काम तीव्र नै छ । यसको कारण के होला ?
हुन त, आजकल संगीतमा लगानी बालुवामा पानी हालैझैं त होला । तर, मैले त रहर पूरा गर्नकै लागि भए पनि बालुवामा पानी हालेको नि ! (हाहा….हास्ँदै) लगानी वापस हुने आशा गरेको छुइनँ ।
अन्त्यमा, मैले सोध्न भुलेको र तपाईलाई भन्नु पर्छ जस्तो लागेको केही भए छोटकरीमा राख्न सक्नुहुन्छ ।
सबै कुरा राखिसकेको छु । अन्तमा तपाईंलगायत एभरेस्ट टाइम्सका सबै मेम्बरहरुलाई धन्यवाद । अनि “मेरो रहर” एल्बममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै गीतकार, संगीतकार, रेकर्डिस्ट, पत्रकार, रेडियो, बजार व्यवस्थापन गर्ने सबैमा मेरो अन्तर हृदयदेखि एकमुष्ठ हार्दिक धन्यवाद दिन चाहन्छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!