काठमाडौं जेठ १२ ।

नेकपा एमालेले थप १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ ।
गएको सोमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको एमालेको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
मौखिक रूपमा सम्झाउने प्रयास असफल भएपछि लिखित रूपमै स्पष्टीकरण सोधिएको तामाङको भनाइ छ । नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको हो ।
सोमवारको स्थायी कमिटी बैठकले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामुकमारी झाँक्रीलगायत ११ जनालाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको थियो ।






