प्रकाश गुरुङ
अल्डरसट, मे ३०। गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायत र नेपाली दूतावास लन्डनको पहलमा जारी कोभिड पीडितहरुका लागि आर्थिक संकलन कार्यमा ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस) ले १ हजार ८ सय पाउन्ड हस्तान्तरण गरेको छ ।
अल्डरसटस्थित एनआरएनए यूकेको कार्यालयमा शुक्रबार बिजिडब्लूएसका कोषाध्यक्ष टेकबहादुर थापा र प्रवक्ता प्रकाश गुरुङले एनआरएन यूकेका अध्यक्ष पुनम गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
चेक बुझाउँदै प्रवक्ता गुरुङले नेपालमा आपतविपत पर्दा बिजिडब्लूएस सँधै सहयोग गर्दै आएको स्मरण गराउँदै ‘अक्सिजन पठाऔं । नेपालीको ज्यान जोगाऔं । नारासहितको एनआरएन यूकेको अभियानमा पनि साथ दिएको बताए । उनले एनआरएन यूकेको काम अति स्वागत योग्य रहेको भन्दै संकलित रकमबाट अतिआवश्यक सामग्री चाँडै पीडितहरुमा पुगोस् भन्ने विचार राखे ।
संक्षिप्त कार्यक्रममा एनआरएनए आइसीसीका सदस्य रामशरण सिंखडा, Europe DRC कृष्ण तिमिल्सिना, एनआरएन यूकेका उपाध्यक्ष रोजिना प्रधान, इंग्ल्यान्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठ, प्रवक्ता रामकुमार गुरुङ लगायतको उपस्थिति थियो ।






