
लन्डन – नेपाल पत्रकार महासंघ युके शाखाको आकस्मिक बैठक गत शनिबार २९ मे २०२१ साँझ ८ बजे भर्चुअलरुपमा बसेको छ। बैठकले निम्न प्रस्तावहरुमाथि छलफल गरी निम्न निर्णयहरु गरेकाले जानकारी तथा कार्यान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।
प्रस्तावहरु:
१. केन्द्रीय प्रतिनिधिको भूमिकाका सम्बन्धमा
२. महासचिवद्वारा संस्था नाम, लेटरप्याड, इमेल दुरुपयोग गरिरहेको सम्बन्धमा
३. पाँचौँ अधिवेसनको उद्घाटन तथा मतदान सम्बन्धमा
४. अन्य
पारित निर्णयहरु
१. नेपाल पत्रकार महासंघ युके शाखाको पाँचौँ अधिवेसनको निर्वाचन प्रयोजनका लागि तोकिएका केन्द्रीय प्रतिनिधि भगिरथ योगीले मिति २०२१ मे २९ तारिखका दिन यस शाखाद्वारा गठित निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमलाई हस्तक्षेप गरी ‘अर्को सूचना नभएसम्म निर्वाचन कार्यक्रम स्थगित गर्ने’ भनी गरेको निर्णयका बारेमा गम्भीर समीक्षा गरियो । केन्द्रीय समितिले केन्द्रीय प्रतिनिधिलाई नियुक्त गरेको पत्रमा उहाँलाई ‘निर्वाचन समितिलाई सहयोग र समन्वय गर्न’ मात्र तोकिएकोमा उहाँले आफ्नो कार्यक्षेत्रबाट बाहिर गई निर्वाचन कार्यक्रममाथि हस्तक्षेप गरेको यस शाखाको ठहर छ । उहाँलाई ‘निर्वाचन समिति र शाखासित समन्वय गरी कार्य गर्न’ तोकिएकोमा शाखा र निर्वाचन समितिलाई कुनै जानकारी नै नदिई अचानक निर्वाचन कार्यक्रम अवरुद्ध गर्नुभएकोमा शाखाको गम्भीर आपत्ति छ । केन्द्रीय प्रतिनिधिले शाखाका बहुसंख्यक सदस्यहरुको विचार नबुझी केही व्यक्तिहरुबाट मात्र प्रभावित भई निर्वाचन समिति र निर्वाचन कार्यलाई पटकपटक हस्तक्षेप गरिरहेकाले उहाँ केन्द्रीय प्रतिनिधि रहुञ्जेल शाखाको निर्वाचन स्वच्छ, निस्पक्ष र धाँधलीरहित हुन्छ भन्ने विश्वास नरहेकाले उहाँलाई केन्द्रीय प्रतिनिधिबाट अविलम्ब मुक्त गरी नयाँ केन्द्रीय प्रतिनिधि नियुक्तिका लागि केन्द्रीय समितिलाई हार्दिक अनुरोध गर्ने निर्णय गरियो । साथै निर्वाचन समितिलाई शाखाको यसअघि मे ९, २०२१ मा बसेको पूर्ण बैठकले सर्वसम्मतरुपमा गरेको निर्णयबमोजिम आफ्ना कार्य जारी राख्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
२. यस शाखाका महासचिव सञ्जयभक्त कँडेलले शाखाको बैठकको निर्णयविपरीत शाखाको लेटरप्याड, नाम तथा इमेल पटकपटक दुरुपयोग गरी इमेल गर्ने, प्रेस विज्ञप्ति जारी गर्ने गरिरहेको हुँदा उहाँलाई यस्ता कार्य गर्नुको कारण के हो शाखालाई तीन दिनभित्र लिखितरुपमा जानकारी गराउन पत्राचार गर्ने निर्णय गरियो । साथै शाखाको यसअघि प्रयोग भइरहेको आधिकारिक इमेल fnjuk2012@gmail.com अब नचलाउने र आधिकारिक नयाँ इमेल info@fnjuk.org चलाउने निर्णय गरियो । सो इमेल सञ्चालनको जिम्मेवारी अध्यक्षलाई दिने निर्णय गरिएको छ ।
३. शाखाको पाँचौँ अधिवेसनका बारेमा यसअघि गरिएको निर्णयलाई थप प्रष्ट पार्दै शाखाको अधिवेसनको उद्घाटन १३ जुन २०२१ का दिन बिहान ९ बजे जुमबाट गर्ने निर्णय गरियो । बेलायतमा कोभिड १९ को प्रभाव कम पर्दै गए पनि अधिवेसन हुने दिनसम्म पूरै लकडाउन खुलिनसक्ने र बेलायतका चारवटा राज्यहरुमा लकडाउन सम्बन्धी अलगअलग नियम भएकाले प्रत्यक्ष मतदान गर्न नसक्ने सदस्यहरुका लागि बेलायतको निर्वाचन प्रक्रियाबमोजिम हुलाकमार्फत पनि मतदानको व्यवस्था गर्ने निर्णय गरियो । बेलायतमा गत ६ मे २०२१ का दिन उपनिर्वाचन तथा स्थानीय निर्वाचन प्रत्यक्ष मतदानमार्फत सम्पन्न भइसकेको पृष्ठभूमिमा यस अधिवेसनमा प्रत्यक्ष मतदान गर्न चाहने मतदातालाई कोभिड १९ को सुरक्षा सम्बन्धी बेलायत सरकारको नियमहरुलाई पालना गर्दै प्रत्यक्ष मतदानको व्यवस्था गर्ने निर्णय गरियो । प्रत्यक्ष मतदान १३ जुन २०२१ का दिन दिउँसो गोल्डेनसीप रेस्टुरेन्ट साउथ ह्यारो, लण्डनमा गर्ने निर्णय गरिएको छ ।
अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षता बसेको बैठकलाई र उपमहासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेका थिए भने निम्न तलका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
पदाधिकारीहरु
१. अध्यक्ष: नरेश खपाङ्गीमगर
२. वरिष्ठ उपाध्यक्ष: श्याम लुइँटेल
३. वरिष्ठ उपाध्यक्ष: ध्रुवराज अर्याल
४. उपाध्यक्ष: लीलामान शेरपुञ्जा
५. उपाध्यक्ष: दिनेशकुमार परियार
६. उपाध्यक्ष: बिमला सेने
७. उपमहासचिव: नरेन्द्र बस्नेत
८. सचिव: पूर्णबहादुर गुरुङ
सदस्यहरु
१. विश्वासदीप तिगेला
२. सुरेन्द्र इङ्नाम
३. नरेश काङमाङ राई
४. बमबहादुर थापा
५. जीवन सेन
६. मञ्जु भण्डारी खरेल
७. नगेन्द्रराज नेम्वाङ
क्षमायाचना प्राप्त
१ सचिव: शिव भण्डारी
२. सदस्य: अनिल मल्ल
३. सदस्य: खेमराज रानाभाट
बैठकको अन्त्यमा उक्त आकास्मिक बैठकमा छलफल गर्नुपर्ने अन्य प्रस्ताव नभएकाले बैठकका अध्यक्ष नरेश खपांगीले उपस्थित सबैलाई धन्यवाद दिँदै बैठक समापन गरेका थिए ।






