लन्डन जेठ २१ । स्याङ्जा समाज युकेले आफ्नो गृहजिल्लालाई कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि १०/१० लिटरको ६ वटा अक्सिजन कन्सन्ट्रेटर यन्त्र सहयोग गरेको छ ।
बिहीबार स्याङ्जा जिल्लामा रहेका पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, फेदिखोला गाउँपालिका, बिरुवा गाउँपालिका र आँधीखोला गाउँपालिकामा रहेको राजस्वाँरा पञ्चमूल स्वास्थ्य केन्द्रलाई स्याङ्जा समाज यूकेका सल्लाहकार तथा नेपाल प्रतिनिधि रिटायर मेजर लच्छिमप्रसाद गुरुङले हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरससँग जुदिरहेको बेलामा बेलायतमा रहेका स्याङ्जा समाज युकेका सदस्यहरुले आफ्नो छाक काटेर यसरी कन्सन्ट्रेटर सहयोग गरेकोमा सम्पूर्ण नगरपालिका र गाउँपालिकाको तर्फबाट स्याङ्जा समाज युके र यस अभियानलाई सफल पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने संस्थाका संरक्षक मेजर कुमार गुरुङ, सल्लाहकार तथा नेपाल प्रतिनिधि रिटायर मेजर लच्छिमप्रसाद गुरुङ तथा वितरक भोलन्टिर कोर नेपाल (VCN)लाई धन्यवाद ज्ञापन गर्नुका साथै संस्थाको उन्नति प्रगतिको शुभकामना पनि व्यक्त गरे । मेयर क्षेत्रीले नेपालमा हुँदा भन्दा विदेशमा रहँदा नेपालको माया बढी लाग्ने भएकोले बेलायतबाट यसरी सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गरे ।
स्याङ्जा समाज युकेका अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा १५ मे २०२१ मा बसेको बैठकको निर्णयअनुसार बेलायतमा रहेका स्याङ्जा जिल्लावासी आफ्ना सदस्यहरुबाट सो इच्छाले संकलन भएको रकमबाट करिब १२ लाख साठी हजार रुपैयाँ बराबरको यन्त्र सहयोग गरेको सल्लाहकार मेजर लच्छिम प्रसाद गुरुङले बताए ।
संस्थाले यसअघि पनि बाढी पहिरोमा परेका परिवारहरुलाई पनि विशेष सहयोग गरेको थियो । यसरी यो छोटो समयभित्र आफ्नो देशमा परिआएको बिपत्तिको बेला स्याङ्जा समाज युकेका संरक्षकहरु, सल्लाहकारहरु कार्यसमिति, आमा समूह तथा सदस्यहरु सबैले सहभागी जनाइ सहयोग पुर्याउनभएकोमा अध्यक्ष शारदा गुरुङलगायत सम्पूर्ण सहयोगी मनहरूलाई, नेपाल र स्याङ्जावासीले विशेष धन्यवाद दिएका छन् ।






