लण्डन जेठ २३ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना भावी आन्दोलनबारे बेलायतको सर्वदलीय संसदीय समिति एपीपीजी अन नेपालका अध्यक्ष सांसद वीरेन्द्र शर्मालाई अवगत गराएको छ ।
समितिका पदाधिकारीले शनिबार सांसद शर्मालाई भेट गरि आफ्नो आन्दोलनबारे अवगत गराएका हुन् । समितिले सांसद शर्मालाई एक ज्ञापन समेत दिएको छ । ज्ञापनपत्र लिएपछि शर्माले आफ्नो तर्फबाट सहयोगको प्रतिवद्धता व्यक्त गर्दै यसबारे बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनलाई अवगत गराउने आश्वासन दिएका समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए ।
भेटमा समितिका अभियान निर्देशक ज्ञानराज राई, सोलिसिटर राजु थापा लगायतको उपस्थिति थियो । गोर्खा सत्याग्रहले आउंदो जुलाई १ तारिखको अल्टिमेटम दिएर मितिसहित वार्ता समिति गठन नगरे भोक हडतालसम्मको चेतावनी दिएको छ । आगामी १५ जुन मध्यान्ह १२.३० बजे सेन्ट्रल लन्डनको गोर्खा स्मारकमा आमसभा गरि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा गएर आफ्ना माग र निर्णायक आन्दोलनबारे पुनः ज्ञापन रिमाइन्डर लेटर बुझाउने कार्यक्रम तय भइसकेको राईले बताए ।
सत्याग्रहले आफ्ना माग वेवास्ता गरिए ७६ मुलुकका प्रतिनिधिको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन गरि व्यापक प्रचार प्रसार र १३ दिने रिले अनसन बस्ने घोषणा गरिसकेको छ ।






