नेपाललाई कोरोना खोप सहयोग गरिदिन ब्रिटिस सांसदहरुद्वारा बेलायत सरकारलाई अनुरोध

SHARE:

लण्डन जेठ २६ । नेपाललाई तत्काल खोप सहयोग गरिदिन नेपाल सरकार, ब्रिटिस सांसदहरु, काउन्सिलर र बेलायत स्थित नेपाली समुदायले बेलायत सरकारसमक्ष अनुरोध गरेका छन् ।

बेलायतका १६ जना सांसदले ब्रिटिस परराष्ट्रमन्त्री डोमिनिक राबलाई एक संयुक्त पत्र लेख्दै नेपाललाई प्राथमिकतामा राखी कोभिड–१९ विरुद्ध खोप एवं अक्सिजन जेनेरेटर, कन्सन्ट्रेटर जस्ता अत्यावश्यक चिकित्सा सहायता उपलब्ध गराउन आग्रह गरेका छन् । उनीहरुले ब्रिटिस सरकारले अहिलेसम्म नेपाललाई उपलब्ध गराएको सहायताका लागि धन्यवाद दिँदै नेपाल तथा ब्रिटेनको ऐतिहासिक सम्बन्धको पृष्ठभूमिमा त्यो सहायता अपर्याप्त भएको जनाएका छन् ।

यसअघि २७ मेमा बेलायतको सर्वदलीय संसदीय समिति ९एपीपीजी अन नेपालका अध्यक्ष सांसद वीरेन्द्र शर्माले पनि विदेशमन्त्री राबलाई एक पत्र लेख्दै नेपालमा विशेषज्ञको टोली, स्वास्थ्य उपकरण र खोप सहायता पठाउन आग्रह गरेका थिए । दुई सय वर्षभन्दा लामो बेलायत–नेपाल कूटनीतिक सम्बन्धबारे स्मरण गराउंदै शर्माले पत्रमा नेपालमा लाखौं मानिसको जीवन जोखिमबीच बेलायतलाई उनीहरुको जीवन रक्षा गर्ने अवसर आएको उल्लेख गरेका छन् ।

गत २० मेमा बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डस्मा समेत नेपाललाई कोभिडविरुद्ध सहयोगबारे बहस भएको थियो । करिब ११ मिनेटसम्म भएको वहसमा लर्डस्हरुले नेपाल कोभिड १९ महामारीबाट ज्यादै प्रभावित भइरहेकोबारे उल्लेख गर्दै तत्काल बेलायती सहयोग पठाउन माग गरेका थिए ।बेलायतले कैयौं आग्रह बाबजुद हालसम्म चिकित्सा सहायतामात्र नेपाल पठाएको छ । बेलायतले मे अन्तिम साता नेपाल सरकारको अनुरोधबमोजिम २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा १९ हजार २०० फेस सिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी थिइन् । राष्ट्रपति भण्डारीले रानीलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा प्रेषित भएको थियो । लन्डनस्थित नेपाली दूतावासले बेलायत सरकारसँग खोप सहायताका लागि पहल भइरहेको जनाएको छ । दूतावासकी उपनियोग प्रमुख रोशन खनालले राजदूत लोकदर्शन रेग्मीले बेलायती विदेश र रक्षामन्त्रीलाई भेटेर खोप सहायता गर्न आग्रह गरिसकेको बताइन् ।

बेलायतको सहायता भए नेपालमा एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाउन नपाएका करिब १७ लाख मानिसलाई दिन पुग्ने उपनियोग प्रमुख खनालको विश्वास छ । कोभ्याक्सअन्तर्गत नेपाल पठाइने करिब २२ लाख खोपमा बेलायतको सहयोग रहे पनि नेपालले थप आग्रह गरेको हो । बेलायतको नेपाली समुदाय पनि अहिले नेपालमा सहयोग पठाउन क्रियाशील छ । दूतावास र एनआरएनए यूकेको संयोजनमा बेलायतमा आर्थिक संकलन गरी १५० वटा अक्सिजन कन्सन्ट्रेटर चीन हुँदै नेपाल पुगिसकेको छ ।

बर्मिङहम रोटरी क्लबसहित बेलायती र नेपाली गरी विभिन्न संघसंस्था र आयरल्यान्ड सरकारले पनि छिट्टै चिकित्सा सहायता पठाउने तयारी गरिरहेको खनालले जनाइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!