लण्डन जेठ २६ ।

पछिल्लो समय नेपालमा कोरोना महामारी बढेसँगै तमु समाज युकेले ११ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोगका साथै उपचारमा समेत सघाउ पुर्याउँदै आएका विभिन्न तीन संस्थामार्फत तमु समाज युकेले नेपालमा सहयोग गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख २५ हजार, रवि लामिछाने फाउण्डेसनलाई ३ लाख र राधा पौडेल फाउण्डेसनलाई ३ लाख रुपैयाँ सहयोग गरेको हो । तमु समाज युकेका तर्फबाट शान्तिकला गुरुङले रवि लामिछाने फाउण्डेसन र राधा पौडेल फाउण्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । त्यसैगरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष डण्ड गुरुङले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन हाल अमेरिकामा रहेकाले सो केन्द्रका किशोर रिमाललाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । सो अवसरमा रिमालले तमु समाज युकेलाई सहयोगका लागि धन्यवाद दिए । केन्द्रले विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए । समाजले उपलव्ध गराएको सहयोग रकम पनि सो अभियानमा लगाउने जानकारी दिए ।
त्यसैगरी, रवि लामिछाने फाउण्डेसनका संस्थापक तथा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले समाजबाट प्राप्त सहयोग सही ठाउँमा सदुपयोग गर्ने बताउँदै समाजलाई धन्यवाद दिए । राधा पौडेल फाउण्डेसनका संस्थापक राधा पौडेलले स्वास्थ्य सामग्री अभाव भएको ठाउँमा स्वास्थ्य सामग्री उपलव्ध गराउनका लागि समाजको सहयोग उपयोगी हुने भन्दै धन्यवाद दिए । सो रकम तमु समाज युकेले संकलन गरेको हो । संस्थाका उपाध्यक्ष शीव कुमार गुरुङले संकलित रकमको विस्तृत जानकारी दिएका थिए भने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले प्रचार–प्रसार अभियान सञ्चालन गरेका थिए ।
महासचिव हर्क गुरुङले सूचना दिने काम गरेका थिए भने अध्यक्ष शिवचन्द्र गुरुङले संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।






