लन्डन जेठ २८ ।

कोरोना भाइरस महामारी पीडितका लागि तमु धिं यूकेले नेपाल पठाएको २५ थान अक्सिजन कन्सन्ट्रेटर पोखरामा पुगेको छ ।
गण्डकी प्रदेश सरकारलाई हस्तान्तरणका लागि अक्सिजन कन्सन्ट्रेटर शुक्रबार प्रदेशको राजधानीको पोखरामा पुगेको हो । तमु धिं यूकेबाट अक्सिजन प्लान्टको लागि पनि १० लाख सहयोग गर्ने तयारी रहेको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमार्फत हस्तान्तरण गर्ने तयारी गरिएको अक्सिजन कन्सन्ट्रेटर र नगद रकम राजनीतिक परिवर्तनका कारण अन्योलमा परेको छ । मुख्यमन्त्री गुरुङ प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि बिहीबार नै पदमुक्त भएका छन् । तमु धिं यूकेले आफ्ना सदस्यहरु र बेलायतवासी नेपालीहरुबाट रकम संकलन गरी पोखरामा अक्सिजन कन्सन्ट्रेटर र नगद सहयोग गर्न लागेको हो ।
पोहोर साल कोरोना महामारी सुरु भएदेखि तमुधिं यूकेले आर्थिक सहयोग, पत्रकारहरुको बिमा र स्वास्थ्य सामग्रीहरु उपलब्ध गराँउदै निरन्तर सहयोग गर्दै आइराखेको छ । यसअघी एनआरएनए यूकेको अगुवाइमा नेपालमा १५० अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण भइसकेको छ ।






