काठमाडौं जेठ ३१ ।

गण्डकी प्रदेशसभाका निवर्तमान सांसद् कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ ।
राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयले दायर गरेको रिटमा सुनुवाइ गर्दै विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालासले कृष्ण थापालाई पुनर्वहाली गर्ने यसअघिको अन्तरिम आदेशलाई खारेज गरिदिएको हो ।
सर्वोच्चको आदेशसँगै कृष्ण थापा अब गण्डकी प्रदेशसभाको सांसद् पदमुक्त भएका छन् । यसअघि सर्वोच्चले अन्तरिम आदेश दिएर पुनर्बहाली गरे पनि पुनः पार्टीले उनलाई पदमुक्त गरेको थियो ।
गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत र मतदान गर्ने क्रममा पार्टीको ह्वीप उल्लंघन गरेपछि थापालाई पार्टीले कारबाही गर्दै पदबाट हटाएको थियो ।






