सिन्धुपाल्चोक असार ५ ।

मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ जनाको मृत्यु भएको छ भने २३ जना अझै बेपत्ता रहेका छन् ।
शनिबार साँझ गाउँपालिका कार्यालयले क्षतिको विवरण सार्वजनिक गर्दै बाढीमा परेर १५ जनाको मृत्यु भएको जनाएको हो। गाउँपालिका कार्यालयका अनुसार, बाढीमा परेर चार जना महिला र ११ जना पुरुषको मृत्यु भएको छ। त्यस्तै, बाढीले बगाउँदा २३ जना बेपत्ता भएका छन्। जसमा दुई वर्षीय बालकदेखि ९० वर्षीय वृद्धसम्म छन्। दुई वर्षीय बालक ३५ वर्षीया आमासँगै बेपत्ता भएका हुन्। आमा र बच्चाको नाम नखुलेको गाउँपालिकाले जनाएको छ।
बेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना मजदूर पनि छन्। उनीहरूमध्ये तीन जना भारतीय, तीन जना चिनियाँ र दुई जना नेपाली नागरिक रहेका छन्। उनीहरू हेलम्बु–१ अम्बाथानस्थित साइट क्याम्प बगाउँदा बेपत्ता भएका हुन्। हेलम्बु–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा पहिरो जाँदा मेलम्चीमा बाढी आएको गाउँपालिकाले जनाएको छ। जसले गर्दा मेलम्चीमा अझै पनि पानीसँगै लेदो आइरहेको छ।
१ असारमा आएको बाढीले हेलम्बुसँगै मेलम्ची नगरपालिकामा पनि क्षति पुर्याएको छ। मेलम्ची बजार क्षेत्र पुरिएको छ। सतर्कता अपनाउँदा मेलम्चीमा भने मानवीय क्षति हुनबाट जोगिएको छ।






