लण्डन असार १६ ।

गैरआवासीय नेपाली संघ एनआरएनएले निर्वाचन समिति गठन गरेको छ ।
अन्तरराष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर महिनामा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि सात सदस्यीय निर्वाचन समिति गठन गरेको हो । नेपाल बार एसोसियसनका महासचिव अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित निर्वाचन समितिमा रामप्रताप थापा जर्मनी , चिरञ्जीवी ढकाल यूके, डा. गणेश गुरुङ, नेपाल डा. देवकाजी डंगोल कतार, डा. विष्णुमाया परियार अमेरिका र सदस्य सचिवमा भूषण घिमिरे जापान रहेका छन्।
थापा संघका संरक्षक हुन् भने समाजसेवी ढकाल एनआरएनएका संस्थापक सचिव हुन् । घिमिरे संघका पूर्व प्रवक्ता हुन्। संघको महाधिवेशनको लागि अगष्ट १५ भित्र केन्द्रीय प्रतिनिधि चयन गर्नु पर्ने व्यवस्था छ । केन्द्रीय प्रतिनिधिको लागि ६५ प्रतिशत राष्ट्रिय परिषदका पुराना पदाधिकारी, २५ प्रतिशत एनसीसीबाट निर्वाचित र १० प्रतिशत अध्यक्षद्वारा मनोनित प्रतिनिधिहरु संघको महाधिवेशनमा भाग लिन पाउने छन् । २५ प्रतिशत एनसीसीबाट निर्वाचित भन्नाले अब हुने नयाँ निर्वाचनबाट निर्वाचित हुने सदस्यलाई समेट्ने बताइएको छ।
यस पटक अनलाइन प्रणालीबाट निर्वाचन गराउने भनिएता पनि सूचना प्रविधिमा विज्ञता भएका कसैलाई पनि निर्वाचन समितिमा समेटिएको छैन ।






