लण्डन असार १७ ।

भूतपूर्व गोर्खाहरुले लण्डनमा गर्ने भनिएको आमरण अनसन केही समयका लागि स्थगन भएको छ ।
समान पेन्सन लगायत अधिकारको माग गर्दै आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपाल सरकारको पत्रपछि जुलाइ १ देखि लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि गर्ने तय गरेको आमरण अनसन आउंदो जुलाइ २१ साउन ६ गतेसम्म स्थगन गरेको हो । नेपाल सरकारले पत्र पठाउंदै भूतपूर्व गोर्खाहरुका माग सम्वोधन गर्न पहल गर्ने आश्वासन दिएपछि भूतपूर्व गोर्खाहरु उक्त कार्यक्रमबाट केही समय पछि हटेका हुन् ।
तर, बेलायत सरकारले वेवास्ता गरे पूर्व निर्धारित कार्यक्रम फेरि सुचारु गरिने सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले नेपाली लिंकलाई जानकारी दिए । नेपाल सरकारले पठाएको पत्रमा आफ्ना मुद्दा समाधानका लागि बेलायत सरकारसँग प्रत्यक्ष रूपमा वार्ता गर्न नेपाल सरकारले पहल गरिरहेको जानकारी पाएको संघर्ष समितिद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
संघर्ष समितिले जुलाइ २१सम्म बेलायतबाट कुनै प्रतिक्रिया नआए प्रधानमन्त्री कार्यालय अगाडि सत्याग्रह र अन्य कार्यक्रम गर्न बाध्य हुने दोहोरयाएको छ । सत्याग्रहले यसअघि १५ दिने भोक हडताल गर्ने तय गरेको थियो । गोर्खा अभियन्ताहरु ज्ञानराज राई, धन गुरुंग र पुष्पा राणा घले आमरण अनसनमा बस्न राजी भएका थिए ।
भूतपूर्व गोर्खाहरुले अबको आन्दोलन निर्णायक हुने दावी गर्दै आएका छन् ।






