लण्डन असार १९ ।

बीबीसी मास्टरसेफ २०२० का उपविजेता सन्तोष साहको नेपाली खानाका बारेमा कुकबुक बजारमा आउने भएको छ ।
‘अइला’ नाम दिइएको सो पुस्तक डीके पब्लिकेसनले बजारमा ल्याउन लागेको हो । पुस्तक फेब्रुअरी २०२२ मा बजारमा आउने अपेक्षा गरिएको छ । साहले सो पुस्तक बजारमा आउने जानकारी गराउन पाउँदा ओैधी हर्ष लागेको बताएका छन् । पुस्तकमा नेपाली खानाको रेसिपी उपलब्ध हुनेछ ।
सो रेसिपी अनुभवी र सिकारु सबैलाई उपयोग हुने आशा गरिएको छ । नेपालका खानेकुराहरु लोकप्रिय हुँदाहुँदै पनि छिमेकी देशहरुका खानाका कारण ओझेलमा परेकाले सो पुस्तक ल्याउनु परेको साहले बताएका छन् । सो पुस्तकमा खानाको रेसिपीका साथसाथै साहले आफ्नै अनुभव र खानाको इतिहासका बारेमा पनि लेखेका छन् ।
२४० पेजको सो पुस्तक अंग्रेजी भाषामा हुनेछ । अमाजोन लगायतका प्लाटफर्ममा पनि सो पुस्तक उपलब्ध हुनेछ । सिराहाका साह विगत केही वर्षदेखि लण्डनमा छन् । उनी बीबीसी मास्टरसेफ प्रोफेसनल्सको फाइनलसम्म पुगेका थिए । उनले प्रतियोगितामा मौलिक नेपाली खाना पकाएर टक्रयाएका थिए ।






