लण्डन असार ३० ।

इङल्याण्डमा आउँदो सोमबारदेखि लकडाउन सकिएपछि पनि लण्डनभित्र सन्चालन हुने सार्वजिनक यातायातमा भने मास्क अनिवार्य लगाउनु पर्ने भएको छ ।
लण्डनभित्रको सार्वजनिक यातायात सन्चालन गर्ने ट्रान्सपोर्ट फर लण्डनलाई लण्डनका मेयर सादिक खानले बुधबार बिहान त्यसो गर्न निर्देशन दिएका छन् । उनले धेरै परामर्शपछि सो निर्णय गरिएको र मास्क लगाउनले सँगै यात्रा गर्ने यात्रुहरु र यातायात सन्चालन गर्ने कर्मचारीहरुलाई सुरक्षित राख्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
सरकारले नै देशभर मास्क लगाउन अनिवार्य गरिदिएको भए सजिलो हुन्थ्यो भन्दै उनले आफू भर्खरै कोरोनाको महामारीबाट तङ्ग्रिदै गरेका लण्डनबासीलाई जोखिममा राख्न नसक्ने बताएका छन् । उनले धेरैवटा अध्ययनहरुले मास्कले संक्रमण रोक्ने देखाएको पनि जिकिर गरेका छन् । सरकारले भने सोमबारपछि सार्वजनिक यातायातमा मास्क लगाउने बारेमा निर्णय गर्ने सम्बन्धित यातायात सन्चालकहरुको दायित्व भएको बताएको छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट सापले यसअघि नै विभिन्न हवाइ सेवा सन्चालकहरुले जुलाई १९ पनि के गर्ने भन्ने बारेमा स्वतन्त्र रुपले निर्णय लिइसकेकाले ट्रान्सपोर्ट फर लण्डनको निर्णयलाई स्वाभाविक रुपमा लिएको बताए । ट्रान्सपोर्ट फर लण्डनले लण्डनभित्रको भूमिगत रेल, बस सेवा, लण्डनओभर ग्राउण्ड, ट्रामसेवा, टीएफएल रेल, डीएलआर, केवल कार लगायतका सार्वजनिक यातायातहरु सन्चालन गर्ने गर्दछ ।
गत वर्ष कोरोना महामारीका कारण लण्डनमा दर्जनौँ बसचालकको ज्यान गएको थियो ।






