लण्डन असार ३० ।

गैरआवासीय नेपाली संघ एनआरएनए युकेको यही जुलाई ३१ मा हुने निर्वाचनमा दीपक श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार साँझ एक भर्चुअल समारोहमा उनले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरे । श्रेष्ठले सो अवसरमा आफ्नो १० बुँदे प्रतिबद्धताहरु पनि सार्वजनिक गरे । बेलायतस्थित नेपाली समुदायका अगुवा, संघसंस्थाका प्रतिनिधि र एनआरएनए अभियन्ताहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा श्रेष्ठले एनआरएनए यूकेलाई आर्थिक पारदर्शितायुक्त, प्रविधिमैत्री, सबैको सहभागितामूलक संस्थाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली नागरिकताको निरन्तरता, पैत्रिक सम्पत्तिको सुरक्षादेखि भूतपूर्व गोर्खाको हकअधिकार स्थापना लगायतका एजेन्डा आफ्नो मूल प्राथमिकतामा रहने उनले स्पष्ट पारे । घोषणा सभामा श्रेष्ठलाई बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएनए अभियन्ताहरुसहित एक सय बढी वक्ताले शुभकामना दिएका थिए ।
शुभकामना मन्तव्य राख्नेहरुमा वरिष्ठ समाजसेवी डा। राघवप्रसाद धिताल ओबिई, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुवराज अर्याल, तमुधिं युके अध्यक्ष हितकाजी गुरुङ, मगर संघ युके अध्यक्ष सुनिल राना, पासा पुचस् युके अध्यक्ष ओजेश सिंह, पूर्व अध्यक्ष कुमार श्रेष्ठ, सहारा युके अध्यक्ष कुमार गुरुङ, एनआरएनए मानार्थ परिषद सदस्य विनोद ज्ञवाली, आइसिसी सदस्य सुरोज मास्के र अर्कराज तिम्सिना, विश्वासदीप तिगेला, साझा नेपाली समाज युके निवर्तमान अध्यक्ष महेश अधिकारी, प्रवासी नेपाली मन्च युके अध्यक्ष राजेन्द्र पुडासैनी, डायमन्ड बुद्धिस्ट सेन्टर युकेका अध्यक्ष सुमलकुमार गुरुङ लगायत थिए ।






