
लन्डन साउन १ । बेलायतमा पछिल्लो २४ घन्टामा ५१ हजार ८७० जना कोरोना संक्रमित थपिएका छन् ।
डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरका अनुसार यो संख्या गत जनवरीयताकै उच्च्च हो । बेलायतमा हालसम्म संक्रमितको संख्या ५३ लाख ३२ हजार ३७१ पुगेको छ । आउँदो सोमबारबाट इंग्ल्याण्डमा हाल लागू गरिएका लकडाउन सम्बन्धी सम्पूर्ण कानूनी प्रावधानहरु अन्त्य गरिने प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरिसकेका छन् । यद्यपि सार्वजनिक यातायतलगायतका स्थानहरुमा भने मास्क अनिवार्य गरिने भएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन ६३ जना संक्रमितको मृत्यु भएको थियो । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख २८ हजार ६४२ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार एक दिनमा ७१७ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।
अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या तीन हजार ९६४ र भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ५५१ पुगेको छ ।






