काठमाडौं साउन २ ।

संघीय संसद् बैठकबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएका छन् ।
कांग्रेसले आइतबार दिउँसो दुई बजे नयाँ वानेश्वरस्थित संसद् भवनको लोत्से हलमा र माओवादीले बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् । कांग्रेस सचेतक पुष्पा भुसालले संघीय संसद्को भोलिबाट आह्वान भएको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न दलको बैठक बोलाएको जानकारी दिइन् ।
त्यस्तै माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले पनि संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । माओवादीले बैठकमा उपस्थित हुन सबै सदस्यहरूलाई ह्वीप जारी गरेको छ । पुनःस्थापित प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आइतबार अपरान्ह चार बजे संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।






