लन्डन जुलाई १९ । कोरोनाको दोस्रो लहरका बेला नेपालमा अक्सिजन कन्सन्ट्रेटर पठाउन आर्थिक सहयोग गर्ने बेलायतबाट सम्पूर्णदातालाई सम्मान गरिएको छ ।
नेपाली दूतावास र एनआरएनए यूकले शनिबार लन्डनस्थित नेपाली दूतावास भवनमा आयोजित कार्यक्रममा आर्थिक सहयोग गर्ने संघसंस्थाका प्रमुख एवं व्यक्ति गरी करिब ६० जनालाई राजदूत लोकदर्शन रेग्मी र एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले खादा र प्रमाणपत्रले सम्मान गरेका हुन् । ।
एनआरएनए यूकेको संयोजन तथा नेपाली राजदूतावास लन्डन र एनआरएनए आइसीसीसंगको समन्वय एवं बेलायतका विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा ‘अक्सिजन पठाऔं नेपालीको ज्यान बचाऔं’ अभियानअन्तर्गत १५० थान अक्सिजन कन्सन्ट्रेटर पठाइ हस्तान्तरण गरिएको थियो । अत्यावश्यक स्वास्थ्य उपकरण किन्न बेलायतबाट करिब २ करोड ५५ लाख संकलन भएको थियो ।
पहिलो चरणमा दूतावासकी उपनियोग प्रमुख रोशन खनालले स्वागत गर्दै कार्यक्रम शुरुवात गरेकी थिइन् । सो अवसरमा राजदूत रेग्मीले नेपाल र नेपालीलाई अप्ठेरो पर्दा बेलायतवासी नेपालीले गरेको निस्वार्थ सहयोगप्रति आभार व्यक्त गरे ।
उनले नेपालको समृद्धिका लागि गैर आवासीय नेपालीको साथ सहयोग महत्वपूर्ण हुन पनि उल्लेख गरे ।
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले दूतावासको सहकार्यमा ऐतिहासिक काम गर्न पाउँदा खुसी लागेको बताउँदै सबैलाई धन्यवाद दिइन् ।
दोश्रो चरणको कार्यक्रम एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रममा एनआरएनए आइसीसी सल्लाहकार कुल आचार्य, आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सेना, एनआरएनए यूके संरक्षक सूर्य गुरुङ, एनआरएनए यूके पदाधिकारी, अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।






