पोखरा र आसपासमा बेलाबेलामा निर्माण हुने गुरुङ चलचित्रहरुको माध्यमबाट थुप्रै नयाँ कलाकार यस क्षेत्रमा प्रवेश गर्ने क्रम बढ्दो छ । तर, प्रवेश गरेका जति सबै कलाकार भने यस क्षेत्रमा टिकेका उदाहरण कमै मात्र छ । कतिले यस क्षेत्रलाई सदुपयोग गरेर आफू स्थापित हुँदै गुरुङ समुदायकै प्रतिनिधित्व पनि गरेका छन् भने कति रहर पूरा भएपछि गुमनाम भएका छन् ।
भर्खरै मात्र स्टार्स स्टुडियोको व्यानरमा पोखरामा निर्माण सम्पन्न भएको गुरुङ चलचित्र ‘म्ले क्यु’ अर्थात् ‘बिर्साउने पानी’मा नवोदित कलाकारको रुपमा प्रवेश गरेकी एउटा प्रतिभा हुन्, कृष्टि गुरुङ । उनी म्ले क्यु चलचित्रमार्पmत यस क्षेत्रमा प्रवेश गरेकी छिन् यद्यपि चलचित्र भने प्रदर्शनको क्रममा रहेको छ । नवलपरासीको सुनवल–३ कीर्तिपुरमा बाबा बुद्धिबहादुर गुरुङ र आमा दुर्गा गुरुङकी सन्तान कृष्टिले भगवती मा.वि. वनकट्टीबाट एसएलसी उत्तीर्ण गरेकी छिन् । सानैदेखि नाच्न र गाउन तथा उद्घोषण क्षेत्रमा रुचि राख्ने उनी आफ्नो समाजमा हुने विभिन्न कार्यक्रमहरुमा उद्घोषकको समेत काम गर्ने गर्थिन् ।
चाखलाग्दो कुरा के छ भने, म्ले क्यु चलचित्रको छाँयाङ्कन पूर्व नयाँ कलाकार र बाल गायकको खोजी गर्न फेसबुकमार्फत अन्तर्वार्ता लिइएको थियो । यसरी चलचित्रका निर्देशक जसु गुरुङद्वारा फेसबुकमार्फत लिएको अन्तरर्वार्तामा उत्कृष्ट अभिनय गरेपछि उनी छनौटमा परेका थिए । त्यसपछि चलचित्रको छाँयाङ्कनको लागि कृष्टि सुनुवलबाट स्याङ्जा आइपुगेकी थिइन् । सोही अनुसार उनले चलचित्रमा पनि उत्कृष्ट अभिनय गरेको चलचित्रका निर्देशक जसु गुरुङ बताउँछिन् । पहिलो पटक चलचित्रमा अभिनय गरे पनि आफूलाई भने खासै गाह्रो नभएको उनी बताउँछिन् । अहिले उनी स्टार्स स्टुडियो पोखरामा नृत्य प्रशिक्षण र त्रिवेणी संगीतालयमा गायन विधाको पनि प्रशिक्षण लिइरहेकी छिन् । भविष्यमा यसै क्षेत्रमा आफूलाई निखार्दै अघि बढ्ने योजना रहेको उनले सुनाइन् ।
उनको कलाकारिता यात्रा सुखद् रहोस् । शुभकामना !
प्रस्तुति : रोशनी गुरुङ






