लण्डन साउन ६ ।

एनआरएनए यूकेको स्कटल्याण्ड राज्य समन्वय परिषदमा दिवाकर पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।
परिषदको वर्तमान कार्यसमितिमा सचिव रहेका पाण्डे आगामी कार्यकालको लागि अध्यक्षको उम्मेदवार बनेका हुन् । सोमबार उम्मेदवारी दर्ता गरेलगत्तै पाण्डेले आफ्ना १२ बुँदे एजेन्डासहितको घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।
घोषणापत्रमा उनले स्कटल्यान्डमा बस्ने नेपालीहरुमध्ये आधा संख्यालाई एनआरएनएमा आबद्ध गर्ने, स्थानीय नेपालीहरुलाई एनआरएनए अभियानबारे सुसूचित गर्ने, स्कटल्यान्डमा नेपाली भाषा, संस्कृति प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउने, नेपाली नागरिकता निरन्तरता र पैत्रिक सम्पत्तिको सुरक्षाका लागि पहल गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै, पाण्डेले एनआरएनए स्कटल्यान्डलाई च्यारिटीमा दर्ता गर्ने, संस्थागत पारदर्शिता विकास गर्ने, स्थानीय नेपाली संघसंस्थाको सशक्तिकरण र सहकार्य बढाउने, नयाँ पुस्तालाई एनआरएनए अभियानबारे बुझाउने जस्ता एजेन्डा पनि अघि सारेका छन् ।






