काठमाडौं साउन १० ।

कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा फेरि १० दिन थपिएको छ।
आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले २० साउनसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। कोरोनाभाइरस संक्रमणको जोखिम कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी थपिएको निषेधाज्ञामा केही परिवर्तन गरिएको छैन। शैक्षिक संस्थाहरू बन्द नै रहनेछन्। त्यस्तै, सभा, समारोह, जात्रा, महोत्सवमा रोक लगाइएको छ। भीडभाड हुने कार्यक्रम गर्न निषेध गरिएको छ।
कोरोना नियन्त्रणका लागि १६ वैशाखबाट काठमाडौं निषेधाज्ञा लगाइएको हो। केही सातायता क्रमिक रुपमा खुकुलो पारिँदै आएको छ।






