माधव नेपाललाई एमालेमा ठाउँ छैन : ओली

SHARE:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताउनुभयो । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटी बैठकमा अध्यक्ष ओलीले बाटो बिराएका साथीले आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाएको सन्दर्भ जोड्दै त्यस्ता मुख्य व्यक्तिलाई पार्टीमा ठाउँ नहुने दोहोर्‍याउनुभयो ।

उहाँले अरु नेताहरू जो गल्ती महसुस गरेर आउनेछन् भने स्वागत गरिने तर नआउनेहरू छुट्दै जाने बताउनुभयो । अन्यसँग अहिले पनि कुरा भइरहेको उहाँको भनाइ थियो । अहिलेको परिस्थितिमा उच्च मनोबलका साथ आन्दोलन सशक्त बनाउनुपर्नेमा आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले खुट्टा तान्ने मान्छे हटेकाले अबको निर्वाचनमा बहुमत ल्याएर देखाउने ठोकुवा गर्नुभयो । उहाँले पार्टी नेता कार्यकर्तालाई स्वार्थमा नलागी उपयुक्त ढङ्गले पदको बाँडफाँट गरेर एकताबद्ध हुन पनि निर्देशन दिनुभयो ।

निर्वाचनमा बहुमत पुर्‍याएर देखाउन नेकपा (एमाले)सामु इतिहासकै चुनौतीपूर्ण घडी खडा भएको र अहिले धेरै फल्नुपर्ने बेलामा हाँगा काटिएको छ भन्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा मुलुकको विकास र समृद्धिमा देखिने गरी काम गरेको पनि दाबी गर्नुभयो । बाटाघाटा, पुल, पूर्वाधारमात्रै नभई डिजिटल नेपाल निर्माणको आधार तय भइसकेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले जमिनको माटोको गुणस्तर कस्तो छ, के–के नवीकरण गर्नुपर्छ, मोबाइलमा हेर्नुस् भन्न सक्ने गरी विकास गरिएको र पूर्वपश्चिम रेल चल्न लागेको, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको तथा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पनि देखिने गरी प्रगति भएको उल्लेख गर्नुभयो ।

फरक सन्दर्भ जोड्दै अध्यक्ष ओलीले राम नेपाल भूमिमै जन्मिएको हो भनेर तथ्य प्रमाणित गरेको जिकिर गर्दै आगामी वर्षदेखि चितवनको माडीस्थित अयोध्यापुरीमा विश्वभरिका हिन्दू राम जन्मभूमि हेर्न लाइन लागेर आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उक्त क्षेत्र राम जन्मुभूमि होइन भनेर कुनै शास्त्रले काट्नै नसक्ने दाबी पनि गर्नुभयो ।

उहाँले अहिलेको यो डेढ वर्षका लागि खाएको धक्का आगामी निर्वाचनमार्फत पाँच वर्षका लागि सरकार बनाउने गरी आउने दाबी गर्नुभयो । उहाँले दुईपटक प्रधानमन्त्री हुँदा असफल नभएको बरु ऐतिहासिक प्रधानमन्त्री बनेको जिकिर गर्नुभयो ।

पार्टीका नेता तथा कार्यकतालाई स्वार्थभन्दा माथि उठेर विचारमा केन्द्रित हुन पनि सुझाव दिनुभयो । उहाँले खराब तत्व बाहिरिएकाले पार्टी अझ बलियो भएको पनि बताउनुभयो । अध्यक्ष ओलीले दल पूर्वस्थितिमा गए पनि आफ्नो पार्टी एकीकृत नै रहेको र त्यही भावनाका साथ पार्टी अघि बढेकाले कुनै अलमलमा बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!