प्रेम गाहा मगरले सम्पूर्ण मतदाताप्रति व्यक्त गरे आभार, संस्थाको शुद्धीकरण मूल एजेन्डा (वक्तव्य सहित)

SHARE:

लन्डन — एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरले आफुलाई विजयी बनाउने सम्पूर्ण मतदाता तथा बेलायतस्थित सम्पूर्ण जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन्। निर्वाचन कमिटिले शुक्रबार राती अबेर नतिजा प्रकाशित गरी गाहा मगर र उनको टिमले जीत हासिल गरेको घोषणा गरेको थियो। गाहा मगरले ४,५७४  मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठले २,१९१ र अध्यक्ष पदकी प्रत्यासी रोजिना प्रधान राईले २,१४८ मत प्राप्त गरेकी छन्। त्यसै गरी उपाध्यक्षमा सुनिल बाबु खड्का, नारायण कंडेल, मोहन कार्की तथा गोविन्द खरेल, महिला उपाध्यक्षमा शकुन्तला गुरुङ, महासचिवमा खुसि लिम्बु,  सचिवमा ज्ञानेन्द्र बहादुर आले र विष्णु चालिसे, युवा संयोजकमा तिर्थ बहादुर मल्ल (अनिल) तथा महिला संयोजकमा बिमला लिम्बु निर्वाचित भएका छन्। ती सबै गाहा मगरको टिमबाट उम्मेदवार बनेका थिए। शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै गाहा मगरले संस्थाको शुद्धीकरण र समुदायको एकीकरण आफ्नो मूल एजेन्डा रहेको र त्यसमा कुनै  सम्झौता नहुने जनाएका छन्।  हेर्नोस् गाहा मगरले जारी गरेको विज्ञप्ति  :

बेलायतवासी आदरणीय बाबाआमा, दाजुभाइ तथा दिदी बहिनीहरु,

ढिलो भए पनि रिजल्ट आएको छ।  म एनआरएनए यूकेका पञ्जीकृत सदस्यहरुले मलाई र मेरो एजेन्डाप्रति सहमत साथीहरुलाई अत्यधिक मतले निर्वाचित गराउनु भएकोमा सबैभन्दा पहिले सम्पूर्ण आदरणीय मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दछु । त्यसै गरी रात दिन खटेर, निर्वाचन सम्पन्न गर्नु हुने निर्वाचन समितिका संयोजक तथा सदस्यज्यूहरु एवम् सल्लाहकारज्युहरुप्रति आभार व्यक्त गर्दछु।  साथै आफ्नो कार्यकाल पुरा गर्न लाग्नु भएकी आदरणीय अध्यक्ष पूनम गुरुङज्यू, कार्य समितिका सबै साथीहरु, हामीहरुलाई आडभरोस दिने बेलायतस्थित सामाजिक संघसंस्थाका अगुवाहरु, पत्रकार साथीहरु लगायत सबै शुभचिन्तकहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु। यसै गरी अध्यक्ष पदका उम्मेदवार श्रीमती रोजिना प्रधान राइ तथा दीपक श्रेष्ठज्यूलाई स्मरण गर्न चाहन्छु।  म उहाँहरुको पनि सुझाव र सल्लाह लिएर अगाडी बढ्ने विश्वास दिलाउन चाहन्छु।  त्यस्तै निर्वाचन अभियानमा रात, दिन नभनेर मलाई साथ दिनु हुने सबै साथीहरु र परिवारलाई धन्यवाद दिन चाहन्छु।

यो कुनै सुविधाको पद होइन, समाजको सेवा र योगदानका लागि मलाई दिइएको जिम्मेवारीका रुपमा मैले बुझेको छु । म निर्वाचित हुँदै गर्दा विगतमा दुई कार्यकालसम्म समितिमा रहेर काम र त्यसअगावै पनि कार्य समिति बाहिर बसेर गरेका कामहरुको स्मरण गरेको छु । हामीले विगतमा केही सुधारका पहल गरेका छौं तर, पूर्ण हुन सकेको छैन । अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै गर्दा मैले सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेको थिएँ । मेरो कार्यकालको प्रमुख प्राथमिकता तिनै प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित हुने छन् ।संस्थाको सुदृढीकरण, शुद्धीकरण र पारदर्शितामा कुनै पनि शर्तमा सम्झौता हुने छैन । अग्रजहरुले देखाएको मार्ग पछ्याउँदै नयाँ कार्य समिति अगाडि बढ्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु । समस्या थुप्रै छन् । एक एक गर्दै सुल्झाउनु हामी सबैको दायित्व हो ।

अन्तमा, सदस्यता अभियानदेखि निर्वाचन परिणाम घोषणा सम्मका कामहरुमा सहयोग गर्नुहुने सबै प्रति कृतज्ञता ज्ञापन गर्दछु । मेरो धरातल तपाईहरु नै हुनुहुन्छ र मेरो ऊर्जा पनि तपाईहरु नै  । तसर्थ तपाईंहरुको साथ र बलमा एनआरएनए यूकेलाई सबैले गर्व गर्न लायक साझा संस्था बनाउने प्रण गर्दछु । आशा एवम् विश्वास छ, बेलायतस्थित नेपाल समुदायलाई एकताबद्ध बनाउने यो अभियानमा सबैको साथ प्राप्त हुने छ । अन्त्यमा, चुनावको क्रममा भएका सबै तीता मीठा अनुभवहरुलाई बिर्सेर एकजुट हुन म एनआरएनए युकेका सबै सदस्यहरु र सम्पूर्ण बेलायतवासी नेपाली जनसमुदायलाई अपिल गर्न चाहन्छु|

प्रेम गाहा मगर

लन्डन

मिति: ७ अगष्ट २०२१

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!